जनता टाइम्स

५ श्रावण २०७८, मंगलवार १५:२९

स्थगित मध्य भोटेकोशीको आइपिओको आबेदन आजदेखि खुला


काठमाडौं, साउन ५ । निषेधाज्ञाको कारण बैशाख २४ गते नै स्थगित भएको मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपिओ बिक्रि आजदेखि पुनः सुचारु भएको छ। कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण स्थगित भएको थियो । स्थगित भएको आईपिओ आजबाट पुनः सुचारु हुने भएको हो ।

यस आईपिओमा छिटोमा साउन १७ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरे ३२ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो।

जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गाविस र साविक मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

आईपिओमा २ दिनको अवधिमा ५ करोड ८८ लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको थियो । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ईसेवा, आईएमइ पे र आफ्नै वेबसाइटबाट समेत अनलाइनको माध्यमबाट आवेदन दिन सक्ने ब्यबस्था गरिएको छ ।