जनता टाइम्स

१ असार २०७६, आईतवार ०९:०७

कार्यकर्तामा उर्जा ल्याउदै नेकपा, वर्षायाम लगत्तै देशभर जागरण अभियान


काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशव्यापी रूपमा जागरण अभियान सुरु गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले धेरै महत्वपूर्ण र प्रभावकारी कार्य गरेको भन्दै ती कार्य जनस्तर र कार्यकर्तासमक्ष सञ्चार गराउन नेकपाले जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको हो ।

पार्टी एकताले अन्तिम रूप पाएलगत्तै केन्द्रदेखि गाउँसम्म नेकपाले जागरण अभियान सुरु गर्ने जनाएको छ । अहिले पार्टीका अधिकांश गतिविधि सुस्त छन् । एकता प्रक्रियाले अन्तिम रूप लिन नसकेकाले नेकपाको केन्द्रदेखि गाउँसम्मका महत्वपूर्ण गतिविधिमा सुस्तता आएको हो । एकता प्रक्रियालाई टुंगाएसँगै देशव्यापी जागरण अभियान सञ्चालन गर्ने तयारी थालिएको हो । सम्भवत नेकपाले असारको पहिलो साता एकतालाई टुंगो लगाएर वर्षायाम लगत्तै जागरण अभियान शुरु गर्ने तयारी भईरहेको नेताहरुले बताएका छन् ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले पार्टीले केन्द्रदेखि गाउँसम्म जागरण अभियान सञ्चालन गर्ने बताउनुभयो । पार्टी एकतासम्बन्धी बाँकी काम टुंगो लगाउँदै पार्टीले छिट्टै नै देशव्यापी रूपमा जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको उहाले बताउनु भयो । ‘दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भयो तर लामो समयसम्म कार्यकर्ताका बीचमा पुग्न नसकिएकै हो,’ पौडेलले भन्नुभयो, ‘अब भने गाउँदेखि केन्द्रसम्म पार्टीले जागरण अभियान सञ्चालन गर्छ ।’

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि पार्टीको सचिवालय बैठक बसेर एकताका सबै कार्यलाई अन्तिम रूप दिइने तयारी गरिएको नेताहरुले बताएका छन् । ओली आज स्वदेश फर्कंदै हुनुहुन्छ । अब बस्ने सचिवालय बैठकले एकतासम्बन्धी बाँकी काम टुंगो लगाउँदै देशव्यापी रूपमा जागरण अभियान सुरु गर्ने नेता पौडेलको भनाइ छ ।

एमाले र माओवादी केन्द्रबीच एकता भएपछि कुनै ठोस कार्यक्रम भएको छैन । प्रशिक्षण, भेला, बैठक, सभालगायतका विभिन्न कार्यक्रम लिएर गाउँगाउँसम्म पुग्ने योजना नेकपाले बनाउँदै छ । केन्द्रदेखि गाउँसम्म सरकारले गरेका राम्रा कामको प्रचार, पार्टी एकताको सन्देश दिनेलगायतका विषयमा जागरण अभियान केन्द्रित हुने कार्यक्रम बन्दै छ ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पनि छिट्टै जागरण अभियान सञ्चालन हुने बताउनु भयो । सरकारले गरेका कतिपय राम्रा काम बुझाउन नसकिएको बताउँदै उहाले सरकारका राम्रा कामका साथै पार्टी एकताका विषय लिएर जागरण अभियान सञ्चालन हुने बताउनु भयो । ‘हामीले अझै पार्टी एकताका साथै सरकारका कामबारे राम्रोसँग बुझाउन जागरण अभियान सुरु गर्दै छौं,’ साहले भन्नुभयो, ‘जागरण अभियान गाउँदेखि केन्द्रसम्म हुनेछ । त्यसक्रममा प्रशिक्षण, भेला, बैठक, सभालगायतका कार्यक्रम हुनेछ ।’

सरकारले गरेका राम्रा काम राम्रोसँग जनतामाझ पुग्न नसकेको बताउँदै उनले जागरण अभियानका क्रममा सो विषयमा विस्तृत जानकारी दिने बताउनु भयो । यसैगरी, पार्टी एकता पछि हुने जागरण अभियानले कार्यकर्तामा थप ऊर्जा थपिने विश्वास उहाले व्यक्त गर्नुभयो । नेकपाले पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजनलगायतका एकतासम्बन्धी बाँकी कामको टुंगो यसै साता लगाउँदै छ । यसैगरी, विभाग गठनदेखि स्थानीय तहसम्मका कमिटीको एकता टुंगो लाग्ने क्रममा छ । पार्टीको आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन पनि टुंगो लाग्ने क्रममा छ ।

नेकपाको अन्तरिम विधानअनुसार तीनवटा आयोग रहने प्रस्ताव गरिएको छ । जसमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग रहने व्यवस्था छ । अहिलेसम्ममा पार्टीको सचिवालय, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र जनसंगठनको एकता टुंगो लागिसकेको छ ।

३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । तर एक वर्ष बित्दा समेत पार्टीको एकता टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको छ । नेताहरुले जिम्मेवारी पाउन नसक्दा पार्टी प्रभावकारी एवं विधानअनुसार सञ्चालन हुन सकेको छैन ।