जनता टाइम्स

७ श्रावण २०७८, बिहीबार १७:२२

चिनियाँ प्राध्यापकको किटानी : देउवा ‘प्रो–इन्डियन’ प्रधानमन्त्री


काठमाडौं, साउन ७ ।  नेपालमा सत्ता परिवर्तन भएसँगै उत्तरी छिमेकी मुलुक चीनमा विभिन्न कोणबाट विश्लेषण हुन थालेका छन् । चिनियाँ संचारमाध्यमले आ–आफ्नो कोणबाट शेरबहादुर देउवा नेतृत्वको सरकारको विदेश नीति र चीनले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका छन् ।

चिनियाँ संस्थापन निकट मिडिया ग्लोबल टाइम्समा गतसाता प्रकाशित एक आलेखमा फुदान विश्वविद्यालयका प्राध्यापक झाङ जिदोङद्वारा लिखित आलेखको हेडलाइन छ : भारतमुखी प्रधानमन्त्री भएपनि नेपाल र चीनको सम्बन्ध बलियो छ ।’ देउवा कति लामो समयसम्म सत्तामा रहन्छन् भन्ने कुरा निश्चित नभएको प्राध्यापक जिदोङको तर्क छ । संसदमा कम्युनिष्टहरुकै बहुमत भएकाले आउने चुनावमा देउवाले आफ्ना लागि जितको अनुकूल वातावरण सिर्जना गर्न नसक्ने तर्क पनि छ ।

कोरोनाभाइरसको तेस्रो लहर चाँडै सुरु हुने र यसले अर्थतन्त्रमा थप क्षति पुर्‍याउन सक्ने भन्दै प्राध्यापक जिदोङले भाइरसको आगामी धक्काले सत्तारुढ पार्टी असफल हुनसक्ने अनुमान पनि गर्नुभएको छ । ‘अहिलेको नेपालमा कसैलाई स्वीकार गर्नभन्दा अस्वीकार गर्न सजिलो छ’ उहाँको विश्लेषण छ । नेपालको परराष्ट्र नीतिले पहिले नै आकार लिइसकेकाले कुन दल शक्तिमा आउँछ भन्ने कुराले अर्थ नराख्ने उहाँको टिप्पणी छ ।

प्राध्यापक जिदोङले देउवा अदालतको आदेशमा प्रधानमन्त्री भएको भन्दै उनलाई जनताको सीमित समर्थन रहेको उल्लेख गर्नुभएको छ । ‘देउवा कति समय सत्तामा रहन्छन्, स्पष्ट छैन । उनी संसदबाट निर्वाचित भएका होइनन् सर्वाेच्च अदालतबाट भएका हुन् । यसको मतलब उनीलाई नेपाली कांगेस र जनताको सीमित समर्थन रहेको छ,’ जिदोङको निश्कर्ष छ, ‘नेपाल कम्युनिष्ट पार्टी अझै पनि नेपालको सबैभन्दा ठूलो दल हो । देउवाले संसदमा बहुमत जुटाउन सकेनन् भने आगामी निर्वाचनमा उनका लागि अनकुल वातावरण बन्द सक्दैन ।’