जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार ०९:५९

प्रधानमन्त्रीभन्दा आफू शक्तिशाली बन्ने प्रचण्डको चाहाना : देउवा सरकारको खुट्टा तान्न सुरु


काठमाडौं, ८ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न मुख्य भूमिका खेलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन सरकारमाथि दबाब बढाउन सुरु गर्नुभएको छ। देउवा सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति शेरबहादुर देउवा सत्तारोहण गरेको बिहीबार १० दिन नपुग्दैँ प्रचण्डले यस्तो गर्न थाल्नुभएको छ । सत्तारुढ गठबन्धनमा उच्चस्तरीय राजनीतिक संयन्त्रण निर्माणको विषयले अहिले टाउको दुखाउन थालेको छ ।

तर, सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार सञ्चालन र सत्तारूढ दलहरूबीच समन्वयन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न प्रधानमन्त्री देउवामाथि निरन्तर दबाब दिईरहनुभएको छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा पनि जोड दिएका छन् । सरकारलाई नीतिगत सहयोग गर्न र गठबन्धनमा रहेका सबै दलहरूलाई विश्वासमा लिनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको माग प्रचण्डको रहेको छ ।

संयन्त्रको संयोजक आफूलाई दिन प्रचण्डले प्रधानमन्त्री देउवासहित गठबन्धनमा रहेका दलका शीर्षनेताहरु भन्दै आउनुभएको छ । पूर्ववर्ती सरकारको पालामा पनि राजनीतिक संयन्त्र गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन आग्रह गरेका प्रचण्डलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि हावी हुन र नियन्त्रण गर्न खोज्दा उहाँ ओली नेतृत्व सरकारको विरोधमा उत्रिनु भएको आरोप उहाँलाई लागेको छ ।

हरेक सहमति र सरकार गठनपछि प्रचण्डले राजनीतिक संयन्त्र गठनको माग गर्दै आउने गर्नुभएको छ । र अहिले पनि प्रचण्डले प्रधानमन्त्री देउवामाथि राजनीतिक संयन्त्र गठनका लागि दबाब दिइरहेको नेताहरुले बताएका छन् । कोरोनाभाइरस संक्रमणको महामारीसँग जुध्न पनि राजनीतिक संयन्त्र गठनको चर्चा चलेको थियो ।

२०७२ असोज २८ गते तत्कालीन सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर प्रचण्डकै संयोजकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिएको थियो । जसमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्थायी आमन्त्रित सदस्य थिए । उक्त संयन्त्रमा एमाले, माओवादी, तत्कालीन राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेकपा संयुक्त सहभागी थिए । त्यसयता हरेक वर्षजस्तो प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ । र अहिले गठबन्धनको सरकारको नेतृत्व लिएका देउवामाथि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन दबाब दिइरहेको देउवा निकट एक स्रोतले जनाएको छ ।

सरकारभन्दा माथि रहने गरी उहाँले संयन्त्र निर्माणमा जोड दिएको कांग्रेस नेताहरुको भनाइ छ । प्रधानमन्त्री देउवाले संयन्त्र गठनलाई अस्वीकार गरे पनि प्रचण्डले निरन्तर दबाब दिइरहनुभएको छ । सरकारलाई नियन्त्रणमा राख्न तथा प्रधानमन्त्रीभन्दा आफू शक्तिशाली बन्न प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणमा जोड दिने गरेको आरोप लाग्दै आएको छ ।