जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार १४:२८

प्रधानमन्त्री देउवालाई सुवास नेम्वाङको कडा दनक


काठमाडौं, साउन ८ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई कडा दनक दिनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेम्वाङले बिगतको कूकर्म स्मरणसहित कुनजनादेशबाट प्रधानमन्त्री बन्नुभयो भन्ने प्रश्न गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा नेम्वाङले ३० वर्षअघिको एउटा घटना सम्झिनुभयो । ‘उहाँलाई बधाई दिन म उभिएको छु, बधाई दिँदा केही जिज्ञासा छन्, ‘थुप्रै घटनाक्रम सम्झिन्छु । कसको पालामा हो ? त्यो चाहिँ बिर्सेँ । रोचक, घोचक घटना मैले सम्झिन्छु । सार्है रोचक चाहिँ संसदमा सवाल जवाफ थियो । एउटा बच्चा मरेको कुरा थियो । एकजनाले जवाफ दिनु भयो, गोलीको त आँखै नहुने रहेछ, लाग्यो । यो कसको पालामा हो त्यो मैले बिर्सिएँ ।’

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा देउवा गृहमन्त्री हुँदा तत्कालीन विपक्षी एमालेको आन्दोलनमा ७ वर्षका बालक अनिश शाक्य र १३ वर्षीकी सम्झना दाहालको गोली लागि मृत्यु भएको थियो । त्यसबारे देउवाले संसदमा जवाफ दिँदा ‘गोलीको आँखा नहुने’ जवाफ दिनुभएको थियो ।

आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने उल्लेख गर्दै नेम्वाङले देउवा सरकार जनादेशबाट नभइ अदालतको आदेशबाट बनेको तथ्य पनि राख्नुभयो । ‘सम्माननीय प्रधानमन्त्रीले भनेको सुनेको थिए, सरकारमा जानलाई हामीलाई जनादेश छैन, अहिले त उहाँलाई बधाई दिनुपर्ने अवस्था आयो । उहाँले कहिले जनादेश पाउनु भएछ ? अदालतको आदेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौं । यो मैले अन्यथा कुरा भनेको होइन,’ ’ नेम्वाङले भन्नुभयो ।