काठमाडौं, साउन १० । सरकारले सही नीति र योजनाका साथ काम गर्दा परिणाम आउँछ भन्ने तथ्य नेपालको निर्यात व्यापारले दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक क्षेत्रमा गरेको सुधार र सही नीतिका कारण आर्थिक बर्ष २०७७/७८ मा निर्यात ब्यापार ४५ प्रतिशतले बढेको छ । यो वृद्धिदर ३० वर्षपछिको उच्च परिणाम हो ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार निर्यात व्यापारमा आर्थिक वर्ष २०४८’४९ पछि पहिलो पटक यस्तो वृद्धि भएको थियो । आर्थिक वर्ष २०४६/४७ मा ५ अर्ब १५ करोड रुपैयाँको सामान विदेशी बजारमा गएको थियो । यस्तै आर्थिक वर्ष २०४७/४८ मा ४३ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड पुगेको थियो भने आर्थिक वर्ष २०४८/४९ मा एकैपटक ८५ प्रतिशले वृद्धि भई १३ अर्ब ७० करोडको सामान नेपालबाट विदेशी बजारमा निर्यात भएको थियो । त्यसबेला नेपाली बजारबाट ऊन, गलैँचा, कार्पेट, तयारी पोशाकका साथै हस्तकलाका सामग्री अमेरिका र युरोपको बजारमा अत्यधिक मात्रामा पठाइएको थियो । सोही कारण निर्यात ब्यापार बढेको थियो ।
त्यसयता गत आर्थिक बर्ष नयाँ रेकर्ड कामय भएको हो । आर्थिक वर्ष २०५६/५७ मा ३९ प्रतिशत निर्यात बढेको भए पनि गत आर्थिक वर्ष २०७७/७८ मा ३० वर्षको रेकर्ड तोड्दै करिब ४५ प्रतिशतले निर्यात व्यापार बढेको हो । आर्थिक वर्ष २०७६–७७ मा नेपालले अघिल्लो वर्षको तुलनामा ०.६ प्रतिशतले बढाएर ९७ अर्ब ७० करोड रुपैयाँको निर्यात व्यापार गरेको थियो । भन्सार बिभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४४.४३ प्रतिशतले बृद्धि भई १ खर्ब ४१ अर्ब रुपैयाँको सामान विदेशी बजारमा पठाइएको छ ।
आर्थिक बर्ष २०७८/७८ मा ३० बर्षको रेकर्ड तोडेसँगै एक दशकअघिको लक्ष्य बल्ल पूरा भएको छ । सरकारले आर्थिक वर्ष २०६४–६५ मा व्यापार सन्तुलन कायम गर्न कम्तीमा २ आर्थिक वर्षपछि १ खर्बमाथि पुर्याउने लक्ष्य राखेर त्रीवर्षीय अन्तरिम योजना (०६४/६५ र ०६६/६७) जारी गरेको थियो । आर्थिक वर्ष २०६४/६५ मा नेपालको निर्यात व्यापार वार्षिक ६१ अर्ब रुपैयाँको हाराहारी रहको थियो । त्यसैलाई बढाउन सरकारले त्रीबर्षीय लक्ष्य अघि सारेको हो ।
२०६४ मा राखिएको त्यो लक्ष्य ११ वर्षपछि बल्ल पूरा भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा १ खर्ब ८ अर्ब रुपैयाँको निर्यात भएको थियो । पछिल्लो २ महिना थप ३३ अर्ब रुपैयाँको निर्यात भएपछि १ खर्ब ४१ अर्बको सामान निर्यात भएको छ ।
नेपाली कांग्रेसका तात्कालिन महामन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको पालामा भएको निर्यातलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ब्रेक गरेको हो । ओली सरकारले आयात कम र निर्यात बढी गर्ने नीतिसहित तीन बर्ष अघि अघि बढाएको नीतिको परिणाम स्वरुप निर्यातमा यति धेरै सफलता मिलेको हो । यो परिणामसँगै सरकारले इमान्दारितापुवर्क काम गरे सफलता मिल्छ भन्ने प्रमाण आम नागरिकबीच आएको छ ।
कुन बस्तु कति निर्यात ?
वनस्पति तेल तथा कच्चा पदार्थ : ५६ अर्ब ९५ करोड
कफी, चिया, अलैँची तथा सुकुमेल : ११ अर्ब ७६ करोड
विभिन्न प्रकारका बुनेका तथा नबुनेका कपडाहरू : ११ अर्ब ३६ करोड
कार्पेट : ७ अर्ब ६३ करोड
जुस : ४ अर्ब २४ करोड
दाल, पिठो, गेडागुडी तथा चाउचाउ : २ अर्ब १५ करोड
प्रशोधित तरकारी तथा रिठ्ठाहरू : १ अर्ब ८६ करोड
तरकारी तथा फलफूल : ७२ करोड
प्रतिक्रिया दिनुहोस्