१० श्रावण २०७८, आईतबार ००:००

बैंकिङ कसुरमा फरार महिला पक्राउ


काठमाडौं, साउन १० । नेपाल प्रहरीले १० लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १० लाख जरिवाना गरेपछि फरार रहेकी काठमाडौँ बुढानिलकण्ठका ४५ वर्षीया निता भण्डारीलाई आज पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ वैशाख ६ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम १० लाख जरिवाना ठहर गरेपछि फरार रहेकी भण्डारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकी भण्डारीले मुक्तिनाथ विकास बैंक लिमिटेडमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले भण्डारीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेकी भण्डारीलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले जानकारी दिनुभयो ।