जनता टाइम्स

११ श्रावण २०७८, सोमबार १३:३१

आफ्नै पाठ्यक्रम बनाउँदै बागलुङ


बाग्लुङ, साउन ११

बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगरशिक्षा शाखाले चालू शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्नेगरी तयारी थालेको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताउनुभयो । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्र्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन । शिक्षा ऐन बनेको धेरै समयपछि नगरपालिकाले पाठ्यक्रमको मस्यौदा निर्माण समिति बनाएको छ ।

समितिको संयोजकमा नगरशिक्षा अधिकारी पोखरेल रहनुभएको छ । उहाँको संयोजकत्वमा गठित समितिमा सिगाना मावि तित्याङका प्रअ गोपालकुमार शर्मा, पूर्वआरपी उमानाथ शर्मा, जनताधन माविका प्रअ कुमार पौडेल, पूर्वप्रअ टीकाराम सापकोटा, कालिका कन्या माविका शिक्षक हुमा रिजाल र संस्थागत विद्यालयका प्रतिनिधिका रुपमा महेशचन्द्र प्रधान रहनुभएको छ । यो समितिले कक्षा ३ सम्मको पाठ्यक्रम बनाएर लागू गर्ने योजना बनाएको छ ।

आइतबार बसेको समितिको बैठकले आगामी भदौ १५ गतेसम्म पाठ्यक्रम तयार पार्ने निर्णय गरेको पोखरेलले जानकारी दिनुभयो । ‘हामीले कम्तीमा भदौ १५ गतेसम्म मस्यौदा बनाइसक्ने र शैक्षिकसत्रभरिमा पाठ्यक्रम बनाएर पुस्तकसमेत छाप्ने योजनामा छौँ’, पोखरेलले भन्नुभयो, ‘यो पाठ्यक्रम आएपछि नगरपालिकको मौलिकपना पनि बढ्ने छ ।’ पाठ्यक्रममा नगरभित्रका धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्र पनि समावेश गरिने बताइएको छ । यसअघि तमानखोलाले आफ्नो पाठ्यक्रम बनाइसकेको छ ।