जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार ०८:४३

माधवमाथि लगाम, भीम रावललाई जिम्मा


काठमाडौं, साउन १२ । नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल समुहले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो।

नेपाल समुहको आइतबार र सोमबार काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको छ। बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए। ‘बैठकमा यथाशक्य पार्टीको विवाद निरूपण गर्नेबारे सबैको एकमत छ। यसै साताभित्र यी विषय टुंगो लगाएर जानुपर्छ भन्ने हाम्रो धारणा रह्यो। मलाई लाग्छ, यसै साताभित्र पार्टीको विवाद निरूपण हुन्छ,’ एमाले सचिव भीम आचार्यले भन्नुभयो । आचार्यका अनुसार दुवैतर्फबाट एकताविरोधी गतिविधि नगर्न आग्रह गरिएको छ। ओली पक्षबाट भ्रातृ संगठनका नाममा भइरहेका गतिविधि बन्द गराउन पनि बैठकले आग्रह गरेको छ। युथ फोर्स, पिपुल्स भोलेन्टियर्स, अखिल फोर्सजस्ता दस्ता बनाएर गरिने गालीगलौज बन्द गर्न बैठकले आग्रह गरेको हो।

पार्टीभित्र देखिएका विवाद निरूपण गर्ने क्रममा बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने र पार्टी अध्यक्ष ओलीका तर्फबाट आएको प्रस्तावलाई विश्वासको वातावरणसहित अघि बढाउने निर्णय बैठकले गरेको छ। ‘पार्टी एकताका लागि भएका प्रयास धेरै हदसम्म सकारात्मक छन्। ती प्रयासलाई छिटो टुंगोमा पुर्‍याउन थप प्रयास थाल्ने कुरा भएका छन्। सबै साथीको जोड एकतामै छ। त्यसकारण दुवै नेतालाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन आग्रह गरिएको छ,’ बैठकपछि नेता रघुजी पन्तले भन्नुभयो।

ओलीका तर्फबाट माधव नेपाललाई दोस्रो अध्यक्ष र बराबरी अधिकार दिनेगरी विवाद निरूपणको प्रस्ताव गरिएको छ। तर वरिष्ठ नेता नेपालले भने विधानमा दोस्रो अध्यक्षको व्यवस्था नभएकाले विधानबमोजिम नै विवाद निरूपण गर्ने र विधानमै उल्लेख गरेर दोस्रो अध्यक्षको अधिकारको विषयमा छलफल गर्ने बताउनु भएको आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले समाचार लेख्नुभएको छ । बैठकमा दुवै शीर्ष नेताबीच भेटघाट गरेर कुराकानी गर्नसमेत सुझाव दिइएको थियो।

बैठकमा आचार्यलगायत नेताले पार्टी एकता प्रक्रिया चाँडै टुंग्याउनुपर्ने बताउनु भएको छ अनिर्णयको बन्दी बनिरहन नहुनेमा उनीहरूले जोड दिएका थिए । ‘जनता र कार्यकर्तामा अन्योल छ। नेताहरूले यो विषयमा सोच्नुपर्छ,’ आचार्यले भनेका थिए, ‘एकताको ढोका पूर्ण रूपमा खोल्नुपर्छ, अलमल गर्नुहुँदैन, राष्ट्रिय कार्यकर्ता भेलाको निर्णय र कार्यदलले दिएको १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ।’ पार्टी अध्यक्ष ओली पक्ष मौन रहेका बेला नेपाल पक्ष भने एक साताभित्रै विवाद निरूपण गर्न लागिपरेको छ। त्यसका लागि बैठकले भीम रावललाई जिम्मा दिएको स्रोतले जनाएको छ।

‘माधव नेपाल तत्काल ओलीसँग संवादका लागि तयार छैनन्। विश्वासिलो आधार तयार भएपछि मात्रै संवादमा बस्ने भएकाले रावललाई जिम्मा दिइएको हो, यसै साताभित्र विश्वासिलो आधार तयार गरेर दुवै नेतालाई संवादको वातावरण बनाउने काम हुन्छ,’ बैठक स्रोतले भन्यो। पार्टीभित्र विवाद मिलाउन जति ढिला गर्यो त्यति नै बाहिरका शक्तिले खेल्न पाउने विश्लेषण बैठकमा भएको थियो। बैठकले माधव नेपाललाई सरकार पक्षको गठबन्धनमा नजानसमेत सुझाव दिइएको थियो। स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य र सांसदसँग पनि छलफल गर्ने निर्णय गरेको छ। एकदुई दिनभित्रै स्थायी कमिटीका सदस्यसहित नेपालले केन्द्रीय सदस्यसँग पनि सुझाव लिनेछन्।