पर्वत, १ असार
बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले गाउँपालिकाको समग्र आर्थिक विकासका लागि सहकारीहरुसंगको सहकार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
गाउँपालिकाले आयोजना गरेको ३ दिने तालिमका अवसरमा अध्यक्ष भुषालले स्थानीय तहको आर्थिक विकासका लागि सहकारी माध्यम नै उपयुक्त हुने भएकाले सहकारीहरुसंगको सहकार्यलाई अगाडि बढाउने बताउनु भएको हो ।
स्थानीय रुपमा खेर गैरहेका स्रोतहरुको पहिचान गरी तिनीहरुको उचित परिचालनमार्फत जनतालाई आयआर्जनमा लगाउने तथा निर्यात वृद्धि गरी आयात प्रतिस्थापनका लागि सहकारीमार्फत काम गरिने उहाँको भनाइ छ ।
सहकारीमार्फत आफ्ना सदस्यहरुलाई उत्पादनमा सक्रिय बनाउन, उत्पादित वस्तुको संकलन गर्नका लागि गाउँपालिकाले के सहयोग गर्न सक्छ ? सहकारीकर्मीहरुलाई उहाँले योजना ल्याउन आग्रह गर्नु भएको छ । विकासका लागि साझेदारी आवश्यक छ भन्दै उहाँले सरकार, सहकारी र निजी क्षेत्रबीच जति धेरै सहकार्य गर्न सक्यो, त्यति नै छिटो विकास संभव रहेको उहाँको भनाइ छ ।
तालिमका प्रशिक्षक राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीले सदस्यहरुसंग रहेको श्रम, सीप र पूँजिलाई अधिकतम परिचालन गरी थप आयआर्जन गर्न सहयोग पु¥याउने भएकाले सहकारीमार्फत समृद्धि सहज हुने धारणा राख्नु भयो । सहकारीलाई वेवास्ता गरेर स्थानीय तहले आर्थिक विकास गर्न नसक्ने भएकाले सहकारी र राज्य मिलेर जनतालाई आयआर्जनमा सक्रिय बनाउन सकिने उहाँको भनाई थियो ।
गाउँपालिकाका ६ वटै वडामा सञ्चालित सहकारीका अध्यक्ष, सचिव लगायत सञ्चालक गरी ४५ जनाको सहभागिता रहेको तालिममा सहकारीको ऐतिहासिक विकासक्रम, सहकारी ऐन, नियम र विनियम, सञ्चालक, शेयर सदस्य र कर्मचारीहरुको भूमिका, सहकारीमा वचतको महत्व, कर्जा जोखिम, सहकारीमार्फत स्थानीय तहको आर्थिक विकासमा गर्न सकिने योगदान लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।
पालिकामा रहेका सबै सहकारीहरुको क्षमता विकास गरी स्थानीयवासीको आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा सहकारी र पालिका मिलेर काम गर्ने गरी तालिम सञ्चालिन गरिएको बिहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले जानकारी दिनुभयो ।
बिहादी गाउँपालिकाका ६ वटा वडामा विभिन्न विषयका ३१ वटा सहकारी संस्थाहरु रहेका छन् । ति सबै सहकारीहरुलाई क्रियाशिल बनाउदै उत्पादन वृद्धि गर्न, बजारीकरण र प्रशोधन लगायत जनताको आयआर्जन वृद्धिमा लगाउने पालिकाले योजना बनाएको पन्थीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्