काठमाडौं, साउन १२ । पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाउनुभएको छ । उच्च अदालतले उहाँविरुद्धको मुद्दाको सुनुवाइ गर्दै आज काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो । महराको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिनुभयो ।
‘जिल्लाले जे फैसला गरेको थियो सोही फैसला सदर भएको छ,’ उहाँले भन्नुभयो । संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीले तात्कालिन सभामुख महराले आफ्नो निवासमै आएर बलात्कार गरेको उजुरी दिएपछि महरा पक्राउ पर्नुभएको थियो । प्रहरीले घटनास्थलको मुचुल्का र प्राप्त प्रमाणको आधारमा दोषी देखिएको भन्दै मुद्दा पेश गरेको थियो ।
सुरुमा पुर्पक्षकाका लागि थुनामा रहनुभएका महरालाई अदालतमै शाही उपस्थित भएर झुटो आरोप लगाएको भन्दै बयान फेरेपछि सफाइ दिएको थियो । उच्च अदालतले पनि जिल्लाकै फैसलालाई सदर गरेको हो । उच्च अदालतको यो निर्णयसँगै महराले रोशनी शाही बलात्कार प्रकरणबाट छुटकारा पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्