काठमाडौं, साउन १२ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले ‘एमाले बरिष्ठ’ नेता माधवकुमार नेपालको भित्री योजनाको पोल खोलिदिनु भएको छ । माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले माधवले देउवा सरकारमा सहभागी हुने जानकारी दिएको भन्दै एकताको बहाना सकिएको जानकारी दिनुभएको हो ।
प्रचण्डका अनुसार वरिष्ठ नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताउनुभएको छ । माधव र प्रचण्डबीच आज बिहान कोटश्वरमै बार्ता भएको थियो । सो भेटमा नेपालले देउवा सरकारमा सहभागी हुने जानकारी दिनुभएको खुलासा प्रचण्डले बैठकमा गराउनु भएको छ । सरकारमा पठाउने मन्त्री छनोटको अधिकार आफूले लिने प्रयोजनका लागि पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकका क्रममा बोल्दै प्रचण्डले माधव देउवाले सरकारमा सहभागी हुने बताएको जानकारी गराउनुभएको हो ।
उहाँले बैठकमा नेता नेपालको भागमा एक जना प्रदेश प्रमुख र एक जना योजना आयोग सदस्य छुट्याइएको जानकारीसमेत दिनुभएको बैठकमा सहभागी एक नेताले जनताटाइम्सलाई बताए । ‘माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ, तर हामी सरकारमा सहभागी हुन्छौं भन्नुभएको छ, प्रदेश प्रमुख र योजना आयोग सदस्यको पनि हामी नाम दिन्छौं । सरकारमा सहभागिताबारे साथीहरुसँग सल्लाह भइरहेको छ,’ प्रचण्डको भनाई उधृत गर्दै ती सदस्यले जनताटाइम्ससँग भन्नुभयो । प्रचण्डले माधव एमालेमा नफर्कने निश्कर्षमा अडिग रहेको जानकारीसमेत गराउनु भएको ती सदस्यको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्