जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार २०:३५

आफ्नै क्याविनेटको निर्णयप्रति अर्थमन्त्री जनार्दन असन्तुष्ट



काठमाडौं, साउन १३ । अर्थमन्त्री जनार्दन शर्मा आफै सहभागी भएर गरेको मन्त्रिपरिषदको निर्णयप्रति असन्तुष्ट रहेको तथ्य खुलेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले यस्तो खुलासा गर्नुभएको हो । अर्थमन्त्री शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र सवै नागरिकलाई खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेपछि अर्थमन्त्री मन्त्रिपरिषदको निर्णयप्रति असन्तुष्ट रहनुभएको तथ्य उजागर भएको हो ।

सर्वाेच्च अदालतको परमाशदेबाट प्रधानमन्त्री नियुक्त हुनुभएका शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले आगामी चैत्रसम्म सवैलाई खोप लगाउने निर्णय गरेको थियो । सो बैठकमा अर्थमन्त्री शर्मा पनि हुनुहुन्थ्यो । तर सो निर्णयप्रति उहाँको ठूलै असन्तुष्टि रहेको बुधवार स्वास्थ्यराज्यन्त्री श्रेष्ठसँग अर्थमन्त्रालमा छलफलमा खुलेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले आगामी ६ महिनाभित्र सवै नेपालीलाई खोप लगाउने घोषणासहित आवश्यक खोपको ब्यवस्था मिलाएको थियो । तर देउवा सरकारले पहिलो बैठकबाटै तालिका संशोधन गरी आगामी चैतसम्ममा सवै नागरिकलाई खोप लगाउने निर्णय लिएको हो । अर्थमन्त्री शर्माले सो निर्णय अनुचित रहेको र आफू सहमत नरहेको तथ्य खोलिदिनु भएको हो ।

छलफलमा उहाँले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गर्नुभयो । खोप खरिदको लागि पैंसाको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन जुन देशबाट खोप लिन सकिन्छ, अहोरात्र वार्ता गरी खोप भित्र्याउन राज्यमन्त्री श्रेष्ठलाई सुझाउनु भयो ।

असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्नसक्ने भन्दै शर्माले खोप खरिदको लागि बजेटको कमी हुन नदिने बताउनुभएको अर्थ मन्त्रालयले जनाएको छ । देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकोले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भएपनि खोप खरिदमा लगाइने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ । मन्त्री शर्माले प्राप्त भएका खोपसमेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने बताउनु भएको छ । उहाँले संभव भएसम्म चाडो खोप खरिद गर्ने काममा कुनै विलम्ब नहुने बताउनुभयो । प्राप्त भएका खोप लगाउनको लागि कार्ययोजना बनाइएको र अब योजनावद्ध रुपले खोप कार्यक्रमले गति लिने राज्यमन्त्री श्रेष्ठको भनाई थियो ।