जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार १३:४९

ज्याँठामा फेला पर्यो अबैध मदिरा कारखाना, सञ्चालक चिनियाँ नागरिक पक्राउ


काठमाडौं, साउन १५ । प्रहरीले ठमेलस्थित ज्याँठामा अवैध रूपमा मदिरा बनाउने कारखानामा छापा मारेको छ । बिशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित ज्याँठामा आज छापा मारेको हो ।

महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार अनुमति नलिई अवैध रूपमा घरेलु मदिरा बनाइरहेको भन्ने सूचना पाएपछि छापा मारिएको हो । घरेलु मदिरा कुनै अनुमति नलिई ठूलो परिणाममा बनाइरहेको छ भन्ने सूचना पाएपछि निगरानी गरेको र सही भएको देखिएपछि छापा मारेको उहाँको भनाई छ । उक्त कारखाना एक चिनियाँ नागरिकले चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

प्रहरीले ती चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार त्यहाँ मेसिन नै राखेर रक्सी बनाउने गरेको पाइएको छ । प्रहरीले एक–डेढ सय ड्रम रक्सी पनि बरामद गरेको छ ।