जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार १४:१६

मध्य भोटेकोशीको आईपिओ भर्ने म्याद थप


काठमाडौं, साउन १५ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । आयोजना प्रभावितहरुले शेयर भर्न नपाएको गुनासो गरेपछि आयोजनाले म्याद थप गरेको हो । कम्पनीको आईपिओमा साउन १७ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था गरिएको थियो । साउन १७ गतेसम्म पुरै शेयर बिक्रि नभएमा म्याद थप गर्न सकिने ब्यबस्था थियो ।

तर पुरै शेयर बिक्रि भएपछि पनि स्थानीयको मागलाई सम्बोधन गर्दै म्याद थप गरिएको आयोजनाले जनाएको छ । यससंगै अब आईपिओमा साउन ३२ गते सम्म आवेदन दिन सकिने छ । बोर्डले निर्णय गरिसकेको तर माइन्युट हस्ताक्षर हुन बाँकि रहेकोले माईन्युट हस्ताक्षर भएपछि म्याद थपको सूचना आउने आयोजनाका प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटीले जानकारी दिनुभयो । साथै नेपाल धितोपत्र बोर्डको अनुमति लिन बाकी रहेको छ ।

गत बुधबार नै कम्पनीको आईपिओमा पर्याप्त आवेदन परिसकेको छ । कम्पनीको यस अघि स्थगन भएको आईपिओ बिक्रि साउन ५ गतेबाट पुनः सुचारु भएको हो । कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण बैशाख २४ गते बाट नै स्थगित भएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। आईपिओमा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, इसेवा, आईएमई पे बाट अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

सिन्धुपाल्चोकको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं.१ र ५ (साविक लिस्ती गा.वि.स.) र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स.) र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।