जनता टाइम्स

१ असार २०७६, आईतवार १५:०३

बेटी बचाउ बेटी पढाउ कार्यक्रमलाई प्राथमिकता दिदै २ नं प्रदेश सरकारको बजेट आउँदै


जनकपुरधाम,

प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७६÷७७ को लागि आज बजेट प्रस्तुत गर्दै छ ।

प्रदेश सरकारको दोस्रो बजेट करिब ३५ अर्बको हुने बताइएको छ ।

चालु आर्थिक वर्षमा यो प्रदेशले २९ अर्बको बजेट ल्याएको थियो ।

प्रदेश २ ले नीति तथा कार्यक्रममा अधिकांश विगतकै योजनाहरुलाई निरन्तरता दिएको छ भने त्यसमध्ये बेटी बचाउ बेटी पढाउ कार्यक्रमको सबैंले प्रशंसा गरेका छन् ।

यसपटक सोही कार्यक्रमअन्तर्गत प्रदेश सरकारले कक्षा १ देखि कक्षा ८ सम्मका बालिकालाई मासिक पाँच सय रुपैयाँ दिने योजना ल्याउने बताइएको छ ।

प्रदेश सरकारले कृषिलाई आधुनिकीकरण गर्ने, नयाँ उद्योग कलकारखाना स्थापना गर्ने, युवा रोजगार लगायतका योजनाहरु ल्याउन लागेको छ ।