जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार १७:३८

माधवलाई अब कुर्न सकिन्न, शनिवार बस्ने स्थायी कमिटी बैठकबाट वारपार हुन्छ : महासचिव पोखरेल


काठमाडौं, साउन १५ । नेकपा एमालेभित्रको बिवाद अव वारपारको अवस्थामा पुगेको छ । हदैसम्मको लचकतासहित लामो समयसम्म कुर्दा पनि ‘बरिष्ठ नेता’ माधवकुमार नेपाल एमालेमा फर्कन तयार नभएपछि एमाले संस्थापन अव वारपारको अवस्थामा पुगेको हो । एमाले महासचिव ईश्वर पोखरेलले अव ‘बरिष्ठ नेता’ माधवकुमार नेपाल समूहलाई अब धेरै कुर्न नसकिने भन्दै वारपारको बिन्द्युमा पुगेको प्रष्ट पार्नुभएको छ ।

साउन १५ को अवसरमा पार्टी कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले आज बेलुकासम्म पर्खिने र नभए शनिबार स्थायी कमिटी बैठक बसेर अघि बढ्ने बताउनुभयो । ‘सम्भवत आज बेलुकासम्म केही कुराहरू होला, त्यसपछि अब धेरै प्रतिक्षा गर्नु उचित हुँदैन भन्ने मेरो बुझाइ छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘भोलि बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ ।’

महासचिव पोखरेलले बैठकबाटै अब कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय लिने बताउनुभयो । ‘खासगरी महाधिवेशनका कुरा छन्, त्यसभन्दा पहिले विधान महाधिवेशन गर्नुपर्ने कुरा छ । तलका कमिटीहरूलाई व्यवस्थित बनाउने र सदस्यताका कुरालाई व्यवस्थित गर्ने कुराहरु छन, त्यसमा पार्टीले निर्णय गर्छ,’ महासचिव पोखरेलले भन्नुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवारसम्म पार्टी बिवादको वारपार गर्न निर्देशन दिनुभएको थियो । धेरै लचकता अपनाउँदा पनि माधवले बहानावाजी गरिरहेपछि अध्यक्ष ओलीले महासचिव पोखरेलसहित बिघटित कार्यदलका सदस्यहरुलाई शनिवारभित्र मिलेर जाने कि वारपार गर्ने भन्ने निर्णय लिन निर्देशन दिनुभएको थियो ।