जनता टाइम्स

१६ श्रावण २०७८, शनिबार १६:१६

शोकमा डुब्यो एसएसबीले तुइन काटेर महाकालीमा बेपत्ता बनाएका जयसिंहको गाउँ, आमा-श्रीमती दुवै बेहोस


दार्चुला, साउन १६ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएपछि महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका युवा अझै फेला परेका छैनन । सदरमुकाम हुँदै काठमाडौं आउने क्रममा एसएसबीको अपराधका कारण जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएपछि उहाँको गाउँ व्याँस गाउँपालिका–२ शोकमा डुवेको छ । यो समाचार सुनेलगत्तैबाट घरमा जयसिंहकी श्रीमती बेहोस अवस्थामा हुनुहुन्छ । छेउमै उहाँकी आमा पनि अर्धचेत् अवस्थामा लडिरहनु भएको छ ।

जयसिंहका पाँच वर्षीय छोरा र अर्की डेढ वर्षकी छोरी छिन । ती नाबालकहरु बेहोस आमा र हजुरआमाबाको वरिपरि घुमिरहेका छन तर के भएको हो उनीहरूलाई थाहा छैन । जयसिंहका भाइ नरेन्द्र भने घटनापछि निरन्तर दाइको खोजीमा हुनुहुन्छ । उहाँसँगै गाउँका एक दर्जनजति युवाहरू महाकालीको किनारैकिनार जयसिंहको खोजी गरिरहेका छन । निरन्तरको बर्षाको कारण नदीमा पानीको बहाव निकै बढेको छ । पानी परिरहेकोले खोजी कार्यमा समस्या आएको छ ।

गाउँका महिलाहरू जयसिंहको परिवारलाई सम्झाई–बुझाई गरिरहेकै छन । कोही जयसिंहको दाहसंस्कारको तयारीमा छन । दार्चुलामा मान्छे बगेको दोस्रो दिनसम्म नभेटिए बगेको ठाउँबाट शवको मूर्ति बनाएरै भए पनि अन्तिम संस्कार गरिहाल्ने चलन रहेको छ । त्यसैकारण दाहसंस्कारको तयारी पनि भइरहेको छ । गाउँलेहरूका अनुसार महाकालीमा बगेका जयसिंहको जीवित भेटिने सम्भावना निकै कम छ । यसकारण उनीहरू आजै अन्तिम संस्कार गर्न लागिएको स्थानीयको भनाई छ ।

जयसिंह महाकालीमा बेपत्ता भएपछि परिवारको मुल आधार नै गुमेको छ । जयसिंहकै कमाइले उहाँको परिवारको दैनिकी चलेको थियो । कमाउने मुल मान्छे नै बेपत्ता भएपछि परिवारलाई समस्या परेको स्थानीय सुकुन्दसिंह धामीले बताउनु भयो । वैदेशिक रोजगारीका सिलसिलामा दुई वर्ष कतारमा सेक्युरिटी गार्डको काम गर्नुभएका जयसिंह गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्कनु भएको थियो । जयसिंह सात वर्ष नेपाली सेनामा पनि सेवा गर्नुभएको थियो । सेनाको जागिर छोडेपछि उहाँ कतार जानुभएको थियो ।

त्यहाँबाट फर्किदा सात लाख ऋण निकालेर स्वदेश आउनुपरेको थियो। अहिले त्यही ऋण तिर्न फेरि विदेश जाने तयारीमा रहनुभएको थियो ।
घटनाबारे छानविन गरी आवश्यक कारबाही र क्षतीपुर्तिको माग गर्दै व्याँस गाउँपालिकाले स्थानीय प्रशाशन र गृह मन्त्रालयलाई पत्राचार गरेको छ । जयसिंह रहेको वडा नम्बर २ का वडा सदस्य वीरेन्द्र बुढाथाकीले वडा कार्यालयले घटनाबारे छानविन र पीडित परिवारलाई तत्काल राहत दिलाइदिन माग गरेको बताउनु भयो ।

प्रहरीले मुचुल्का बनाएर धामीको खोजी गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा जिल्लाबाट गएको टोली जयसिंहको खोजीमा परिचालन भएको जानकारी दिनुभयो । जयसिंहसँगै तुइन तरेर पारि गएका चार जनालाई घटनाबारे सोधपुछका लागि प्रहरीले जिल्ला बोलाएको छ ।