जनता टाइम्स

१६ श्रावण २०७८, शनिबार १८:१३

भारततिरै लाग्यो देउवा सरकार, तुइन काटेर जयसिंहलाई महाकाली नदीमा बेपत्ता पार्ने एसएसबीको बचाउ गर्दै आयो बिज्ञप्ती


काठमाडौं, साउन १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो प्राथमिकता नेपाल भन्दा भारत नै रहेको प्रमाणित गरिदिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर महाकाली नदीमा बेपत्ता बनाएको तथ्यलाई बंग्याउँदै भारतकै बचाउमा बिज्ञप्ती जारी गरेर देउवा सरकारले आफू नेपालको लागि होइन, भारतकै लागि बनेको प्रमाण दिएको हो ।

देउवा सरकारले आफ्नो देशको होनहार युवालाई तुइन काटेर महाकालीमा बेपत्ता बनाउँदासमेत जिल्ला प्रशासन कार्यालयमार्फत भारतीय एसएस्बीकै बचाउमा बिज्ञप्ती जारी गरेको छ । अर्थात देउवा सरकारले तुइन तर्दै गरेका नेपाली युवा एसएसबीले डोरी काटेपछि महाकालीमा बेपत्ता भएको घटनामा भारततिरै लागेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारीले आज बिज्ञप्ती जारी गर्दै एसएसवीले तुइन काटेर नेपाली युवा जयसिंह धामी महाकालीमा बेपत्ता भएको भन्ने समाचारप्रति नै आपत्ति जनाइएको छ ।

भारतीय एसएसबीको अपराध ढाकछोप र उसैको बचाउँ गर्दै जारी बिज्ञप्तीमा भनिएको छ, २०७८/०४/१५ गतेका दिन यस जिल्लाका ब्याँस गाउँपालिका वडा नम्बर २ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका ब्यक्तिहरु भारततर्फको बाटो हुँदै सदरमुकाम दार्चुला खलंगा आउने क्रममा ब्याँस गाउँपालिका वडा नं २ माल बस्ने बर्ष ३३ का जयसिंह धामी तुइनबाट तर्दै गर्दा भारतीय एसएसवी का जवानले तुइन काटी दिएकोले निज जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी बिभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा प्रकाशित सूचना/समाचारप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रत्यक्षदर्सीले एसएसवीले तुईन काटेर महाकालीमा बेपत्ता बनाएको बयान दिइरहेको र भिडियोसमेत आइसकेको अवस्थामा भारतका लागि कम्फर्टेवल देउवा सरकारले एसएसवीकै बचाउ गर्दै यो बिज्ञप्ती जारी गरेको हो । जिल्ला प्रशासनको बिज्ञप्तीमा दुई देशबीचको सम्बन्ध खलल पर्ने किसिमका कुनै पनि तथ्यहीन भ्रामक सुचना/समाचार प्रकाशन नगरिदिनुहुन अनुरोध समेत गरिएको छ ।

हेर्नोस बिज्ञप्ती

जिल्ला प्रशासनले गृह मन्त्रालयको निर्देशनपछि यस्तो बिज्ञप्ती जारी गरेको हो । आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्डबीच छलफल भएपछि गृहमन्त्री बालकृष्ण खाँडलाई निर्देशन दिएरै दार्चुला जिल्ला प्रशासनको नाममा भारतको बचाउमा बिज्ञप्ती जारी गर्न लगाएको स्रोतले जनाएको छ । आजको यो बिज्ञप्तीसँगै पाँच महिनाअघि माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वमा माओवादी, जसपा र माधव समुहसहितको सरकार नै भारतको लागि कम्फर्टेवल हुने घोषणालाई प्रमाणित गरेको छ । त्यसबेला प्रचण्डले भन्नुभएको थियो, ‘कांग्रेस, हामी ९माओवादी र माधव समुह एकै भएको बेला० र जसपाको संयुक्त सरकार नै भारतको लागि कम्फर्टेवल हुन्छ ।’ एसएसवीले अपराध नै गरेर महाकाली नदीमा नेपाली युवा बेपत्ता बनाउँदासमेत उसैको बचाउ गरेर प्रचण्डकै भाषामा देउवा सरकारले भारतको लागि कम्फर्टेवल रहेको नेपालीका लागि केही नरहेको प्रमाण दिएको हो ।

जिल्ला प्रशासनले सफेद झुटो कुरा गरेर भारतको भक्ति देखाए पनि तथ्य भने लुक्न सकेको छैन । शुक्रवार बिहान करिब सात बजे पत्नी राजन्तीसँग बिदा भई जयसिंह सदरमुकाम खलंगाका लागि हिँडनु भएको थियो । साथमा गाउँकै ७० वर्षीय गौरसिंह धामीसहित तीनजनाको टोली थियो । सो टोली पनि सदरमुकाम खलंगातर्फ लागेको थियो । गौरसिंह सामाजिक सुरक्षा भत्ता लिन खलंगा आउनु भएको थियो । जयसिंहको पछिपछि पनि गाउँकै विक्रम रंकोली र अमिता धामी हुनुहुन्थ्यो । करिब आधा घन्टा हिँडेपछि सवै जना महाकाली नदीमा लगाइएको तुइननजिक पुगे । सदरमुकाम खलंगा जान स्थानीय बासिन्दा मालघाटमा तुइनबाट महाकाली तर्छन् र भारतपट्टिबाट गाडीमा धारचुलासम्म पुग्छन ।

तुइन भएको ठाउँको पारिपट्टि भारतको पाँगला गाउँ छ, जहाँ भारतीय अर्धसैनिक बल एसएसबीको ब्यारेक छ । गौरसिंहसहितको टोली सुरुमा तुइन तर्यो । सो टोलीपछि तुइन चढनु भएका जयसिंह पारि पुग्न पाउनु भएन । पारी पुग्न करिब डेढ मिटर बाँकी हुँदै एसएसबीका जवानहरूले तुइनको डोरी काटिदिएपछि जयसिंह उर्लिरहेको महाकाली नदीमा खसेर बेपत्ता हुनुभयो । उहाँलाई अझै फेलापार्न सकिएको छैन । ‘हामी तुइन तरेर पाँच–सातमिनेट मात्रै उकालो हिँडेका थियौँ, एसएसबीका दुई जवानले तीनपाने तुइनको डोरी काटिदिए, जयसिंह भारततर्फ पुग्न एक–ढेढ मिटर मात्रै बाँकी थियो, तुइन चुँडिएपछि महाकालीमा डुबे,’ घटनाका प्रत्यक्षदर्सी गौरसिंहले भन्नुभएको छ, ‘आँखैअगाडि जयसिंह महाकालीमा डुबे । दुई मिनेटसम्म बग्दै गरेको देखेँ, त्यसपछि डुबाइहाल्यो ।’

जयसिंह महाकालीमा खसेपछि एसएसबीका दुवै जवान ब्यारेकतर्फ भागेको उहाँको भनाई छ । तर देउवा सरकारले यति प्रष्ट तथ्य हुँदा हुँदै भारतसँग क्षतीपुर्ति र दोषीमाथि कार्वाहीको माग गर्नुको साटो भारतीय एसएसबीकै बचाउमा लागेर चरम निकृष्टता प्रदर्शन गरेको छ ।