काठमाडौं, साउन १७ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरेको छ । विभागका प्रमुख एवं कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागको तर्फबाट देउवालाई शुभकामना पत्र प्रदान गर्नुभएको थियो ।
कांग्रेस सभापति रहनुभएका प्रधानमन्त्री देउवालाई विभागका सचिव भण्डारीले विभागले गरेको कामको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विभागले भावी योजना र कार्यक्रमको बारेमा जानकारी गराइएको र ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘बैंक खोल्न हालसम्म गरेको काम र प्रक्रियाको विषयमा जानकारी गरायौं ।’

जवाफमा प्रधामन्त्री देउवाले देशभरका सहकारीक्षेत्रको प्रतिनिधित्व हुनेगरी सहकारी बैंक खोल्नु आवश्यक रहेको आशय व्यक्त गर्नुभएको थियो । ‘प्रधानमन्त्रीले नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धीत निकायसंग परामर्श लिने धारणा राख्नुभएको थियो,’ उहाँले थप्नुभयो, ‘बैक खोल्ने विषयमा विभागले थप प्रक्रिया थाल्नेछ ।’ विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो ।
विभागका प्रमुख एवं केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहितको कार्यसमितिका पदाधिकारीहरु उपस्थित रहनुभएको थियो । नेपाल सहकारी बैक स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ भने राष्ट्र बैंक र सहकारी महासंघको पत्र प्राप्त हुनासाथ सञ्चालनमा आउनेछ । बैक सञ्चालन गर्न राष्ट्रिय भेलासमेत सम्पन्न गरिसकेको जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्