जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार ०७:३६

अर्थमन्त्री-स्वास्थ्य राज्यमन्त्रीको मित्रता : झम्सिखेलको ‘पोस एरिया’ मा आलिसान बंगला उपहार


काठमाडौं, साउन १८ । ललितपुर झम्सीखेलस्थित डिएभी स्कुल आडको सानो गल्लीभित्र अग्लो पर्खालले घेरिएको एउटा बंगला छ। मूल गेटका दुईतिर सुरक्षाकर्मीका लागि बनाइएका ‘सेन्ट्री’ स्टेशन तर सेन्ट्री घरमा सुरक्षाकर्मी भने छैनन्। ‘घरमूली’ जनार्दन शर्मा ‘प्रभाकर’ अर्थमन्त्री बनेर मन्त्री निवास सरेपछि अहिले यो घर सुनसान छ। वरिपरी ठूला–ठूला रुखहरूले घेरिएको त्यो घरको आँगनमा अहिले केही कार्यकर्ताहरू बसिरहेका देखिन्छन्।

करिब चार वर्षदेखि जनार्दन शर्मा बस्दै आएको त्यो घर हालका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शर्मालाई ‘आवास उपहार’ स्वरुप प्रदान गर्नुभएको हो । श्रेष्ठ भने नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुनुहुन्छ र अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई स्वास्थ्य राज्यमन्त्री पद उपहारमा दिनुभएको छ । आफ्नै पार्टी सत्ता गठबन्धनमा तिव्र आलोचना समेत भएको छ । त्यो मन्त्रालय भने देउवा आफैँले राख्नुभएको छ । सर्वोच्च अदाललतको परमादेशबाट प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले सपथ लिएको २० दिनसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। उहाँको पार्टी नेपाली कांग्रेस र उनलाई समर्थन दिएका अरू दलहरूबीचको गठबन्धनमा मन्त्रीहरू बनाउने विषयमा कुरा मिल्न सकेको छैन। तर त्यही बीचमा कसैसँग पनि सल्लाह नगरेर देउवाले शिक्षा र स्वास्थ्य अनि अरु पनि थुप्रै व्यापारमा ठूलो लगानी गरेका श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनुभयो । उहाँले श्रेष्ठलाई मन्त्री बनाएपछि गठबन्धन भित्रै असहज परिस्थिति बन्दै जादा देउवाले आगामी दिनमा ‘त्यस्तो’ नहुने प्रतिवद्धता नै गर्नुपर्‍यो।

श्रेष्ठको छवि भने राजनीतिकर्मी कम, व्यवसायी धेरै छ । झण्डै चार दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय उनको लिटिल एञ्जल्स, आइडिया मोडल, स्मल हेभन लगायतका विद्यालय सञ्चालनमा छन् । जलविद्युत र कृषि क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा लगानी गरेका उनी महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पतालका ट्रस्टिज अध्यक्ष र जनमैत्री अस्पतालको सञ्चालक पनि हुनुहुन्छ। कांग्रेससँग राजनीतिक साइनो भने दोस्रो संविधानसभा (२०७०) मा पार्टीको कोटाबाट मन्त्रिपरिषदबाट मनोनीत २६ संविधानसभा सदस्यमा परेपछि जोडिएको हो । तर उहाँको सम्बन्ध कांग्रेससँग कम, सभापति देउवासँग बढी भएको नेताहरु सुनाउँछन् । २०७४ को चुनावमा सभापति देउवाको चुनावी खर्चको खटनपटन व्यवसायी विनोद चौधरी, उमेश श्रेष्ठ र अनिल रुँगटाहरुकै हातमा थियो । ६३ सिटमा खुम्चिएको कांग्रेसले जब सरकारको नेतृत्व गर्ने अवसर पायो, त्यही समूह हावी भएको छ । यो समूहबाट एक जना मन्त्री बनाउनुपर्ने दबाबमा देउवा रहनुभएको थियो । नेताहरुले बताएअनुसार व्यवसायी विनोद चौधरीले परराष्ट्र मन्त्रालय बन्ने रुचि देखाउनुभएको थियो । तर देउवाले स्वास्थ्य मन्त्रालयतिर देखाए, जसमा श्रेष्ठ आउनुभएको एक स्रोतले बतायो ।

स्वास्थ्य क्षेत्रमा नै लगानी गरिरहेका व्यवसायीलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्दा ‘कन्फ्लीक्ट अफ इन्ट्रेस्ट’ उत्पन्न हुने देखिएको छ । त्यसैले सामाजिक सञ्जालमा देउवाको छनोटलाई लिएर आलोचना स्वर सुनिएका छन् । पूर्व स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी व्यवसायिक व्यक्तिलाई मन्त्री बनाउँदा स्वतः स्वार्थ बाझिने बताउँछन् । ‘उहाँ एक व्यवसायिक व्यक्तित्व हुनुहुन्छ । यस्ता व्यक्तिहरु मन्त्रीजस्तो सार्वजनिक पदमा आउँदा स्वार्थ बाझिने खतरा रहन्छ,’ उहाले भन्नुभो ‘विश्वको अभ्यास हेर्नुभयो भने स्वार्थ बाझिने वा व्यवसायिक व्यक्तिहरु पदमा बस्दैनन् ।’

यता पूर्व अर्थ सचिव रामेश्वर खनाल व्यवसायीलाई मन्त्री बनाउँदा राजनीतिलाई खरिद बिक्रीको बस्तु बनाइयो भनेर विरोध हुने गरेको दावी गर्नुहुन्छ । खनालका अनुसार व्यवसायी मन्त्री बनेका कारण विरोध भएको भन्दा पनि पैसा खुवाएर आएका कारण पार्टीभित्र र बाहिर मानिसहरुले आलोचना गर्छन्। , ‘व्यवसायी आउँदैमा आलोचना भएको होइन होला। मूलभूत रुपमा के हो भने पैसा दिएर सांसदको पद किन्ने, पैसा दिएर मन्त्री हुने देखिएकाले आलोचना भएको हो। यसमा व्यवसायी मात्र होइन, अन्य व्यक्तिहरुले पनि पैसा खुवाएर राजनीतिक पद किनेका छन्। कतिपय अवस्थामा व्यवसायीहरु मन्त्री हुँदा आलोचना नभएको पनि छ।’

उहाँ भन्नुहुन्छ राजा ज्ञानेन्द्रका पालामा महेश लाल प्रधान उद्योग मन्त्री हुनुभएको थियो। उहाँ पैसा नदिएर मन्त्री हुनुभएको थियो । त्यस्तै डा. उपेन्द्र देवकोटा, दीपक ज्ञवालीलाई पनि मन्त्री बनाइयो। राजाका बारेमा आलोचना भएको अलग कुरा हो। तर त्यो बेला पनि व्यक्तिको बारेमा आलोचना भएको थिएन।’ अहिले स्वास्थ्य राज्यमन्त्री बनेका श्रेष्ठलाई पनि पैसा खुवाएर मन्त्री बनेको आरोप लागेको उहाँले दावी गर्नुभो ‘उमेशजीले नेपाली कांग्रेसलाई भन्दा पनि प्रधानमन्त्री शेर बहादुर देउवाको परिवारलाई पैसा खुवाएर मन्त्री भयो भन्ने आएको छ,’ उहाँले भन्नुभो, ‘त्यो कारणले आलोचना भएको हो। तर व्यवसायी भएकै कारणले मानिसहरुले आलोचना गरेका होइनन्। उमेशजी पैसा खुवाएर सांसद हुनुभयो, अहिले पनि पैसा दिएरै मन्त्री हुनुभयो, अरुलाई छोडेर उहाँलाई बनाइयो, त्यसैले आलोचना भएको हुन सक्छ।’

कुनैपनि व्यवसाय नभएको मान्छे राजनीतिमा लाग्नै नहुने खनालको तर्क छ। राजनीतिलाई कमाइखाने भाँडो बनाउन नहुने उनी बताउँछन्।
‘आफ्नो कमाइखाने बाटो भए मात्र राजनीतिमा लाग्नु पर्छ। राजनीतिलाई कमाइखाने भाडो बनाइयो भनेर पनि आलोचना भएको छ,’ उनले भने।

को हुन स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

कांग्रेसको छाँयामा माओवादी नेतालाई रिझाउँदै सत्तारोहणसम्म कुनै बेला एमालेका कार्यकर्ता रहेका श्रेष्ठले माओवादीलाई पनि खुब रिझाउन जान्नुभएको छ । पछि दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सांसद भए र अहिले पनि कांग्रेसकै सांसद हुनुहुन्छ। ४२ वर्षअघि भोजपुरबाट काठमाडौं आएका जागिरे श्रेष्ठ अहिले अर्बौ लगानी गर्नसक्ने व्यापारी हुनुभएको छ । नेपालकै नाम चलेको स्कुल लिटिल एन्जल्सका उहाँ संस्थापक सञ्चालकमध्येकै एक हुनुहुन्छ। शिक्षा तथा धेरै अस्पतालहरूमा पनि उहाँको लगानी छ। अस्पतालपछि हाइड्रोपावर र होटेल व्यवसाय अनि बैंकहरूमा पनि उहाँको धेरै लगानी छ। राजनीतिक दाउमा खेल्नसक्ने श्रेष्ठले नेपाली कांग्रेस छिरेको केही वर्षमै मन्त्री बन्ने सौभाग्य पाउनुभयो। तर काँग्रेस आवद्धताका पछिल्ला वर्षमा पनि उहाँको माओवादी–केन्द्रित लगानी उल्लेख्य देखिन्छ। संयोग त अहिले कस्तो पनि मिलेको छ भने पैसा निकासा गर्ने अर्थ मन्त्रालयमा जनार्दन शर्मा ‘प्रभाकर’ रहुनभएको छ भने महामारीका बेलामा स्वास्थ्य नीति बनाउनेदेखि स्वास्थ्य सामग्री खरीद गर्नेसम्मका काम गर्ने स्वास्थ्य मन्त्रालयमा श्रेष्ठ राज्यमन्त्री भएर चाबी हातमा लिनुभएको छ । अर्थमन्त्री शर्मा र राज्यमन्त्री श्रेष्ठबीचको अरु सम्बन्ध पनि यसैगरी मौलाउँदै गएका छन्।

शान्ति प्रक्रियामा आएदेखि नै श्रेष्ठ माओवादी नेताहरूसँग नजिकिँदै आउनुभएको थियो । त्यसैक्रममा माओवादी लडाकुहरूको लगानी रहेको ‘जनमैत्री’ अस्पताल ‘टेकओभर’देखि शर्मालाई आलिसन आवास व्यवस्थै गरिदिनुभएको हो श्रेष्ठले। झम्सीखेलको आँगन रेस्टुरेन्टसँगै जोडिएको त्यो घरजग्गा एक स्थानीय राणा परिवारको स्वामित्वमा थियो। ११ आना जमिनसहितको उक्त सम्पत्ति किनेर उमेशले २०६९ फागुन ९ गते आफ्ना भाइ राजेशकुमार श्रेष्ठको नाममा पास गराउनुभएको थियो । स्वामित्व हस्तान्तरणलगत्तै त्यहाँ अर्थमन्त्री जनार्दन शर्मा बस्न थाल्नुभएको हो । राजेशले पनि दाजुकै व्यापारमा सहयोग गर्दै आउनुभएको छ। उमेशले सित्तिमित्ति आफ्नो सम्पत्ति र लगानी गरेका व्यवसायमा देखिनेगरी आफ्नो नाम भने जोड्नुहुदैन धेरैजसो आफन्तहरूमार्फत नै लगानी गर्नुहुृन्छ ।

संचारकर्मीले यसबारेमा घर तथा सम्पत्तिका मालिक राजेशलाई पनि सम्पर्क गर्न खोजेको थियो। तर यस विषयमा उहाँ धेरै कुरा गर्नै चाहानुभएन । उहाले त्यो घरमा जनार्दन शर्मा लामो समयदेखि ‘भाडा’मा बस्दै आएको बताउनुभयो । उहाँ धेरै पहिलादेखि नै त्यो घरमा रेन्टमा बस्दै आउनुभएको छ’ यत्ति भनेर उनले फोन काटिदिए र त्यसपछि मोबाइलको स्वीच अफ गर्नुभयो । स्थानीय तह संचालन ऐन र घर बहाल कर व्यवस्थापन कार्यविधि अनुसार घर भाडा लगाएपछि त्यसको राजस्व स्थानीय सरकारलाई तिर्नुपर्छ। तर मन्त्री शर्मा बहालमा रहेको घरको राजस्व अहिलेसम्म नतिरिएको तथ्य समेत फेला पारेको छ। ललितपुर महानगरपालिकाका अनुसार घर निर्माणदेखि अहिलेसम्म घर–धनी वा बहाल अर्थात भाडामा बस्ने कसैले घर बहाल दस्तुर तथा राजस्व तिरेको छैन्।

यो घर ललितपुर महानगरपालिका वडा नं. ४ ‘क’मा पर्छ। कित्ता नं. ८०६को ११ आना जमिनमा बनेको त्यो घर भाडामा लिएर बसे बसाएवापत अहिलेसम्म कसैले पनि घरबहाल कर तिरेको छैन। वडा कार्यालयमा बुझ्दा घर निर्माण भएदेखि अहिलेसम्म यसको कुनै कर तिरेको रेकर्ड भेटिएन। जबकि घर भाडामा लगाइसकेको एकीन पछि वा सम्झौतापछि घरको सम्झौता पत्रसहित स्थानीय तहलाई जानकारी गराउनु पर्ने हुन्छ र त्यसको कर तिर्नुपर्ने हुन्छ। त्यो कुनै पनि प्रक्रियाको रेकर्ड वडामा छैन। व्यापारीका घरमा नेता ठूला व्यवसायीले दिएको घरमा बस्ने माओवादी नेता जनार्दन शर्मा एक्ला त्यस्तो नेता भने हुनुहुन्न। पटक–पटक कालो सूचीमा परिरहने ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा प्रचण्ड बस्दै आउनुभएको छ। व्यापारी अजयराज सुमार्गी र प्रचण्डको सम्बन्ध त धेरै पुरानो नै हो। उहाँ सुरूमा सुमार्गीकै एकजना आफन्तको नाममा रहेको लाजिम्पाटस्थित घरमा करिब ६ बर्ष बस्नुभएको थियो ।