जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १३:२८

मैलुङ खोलाको आईपिओ भर्ने अन्तिम दिन, अहिलेसम्म कतिले भरे आवेदन ?


काठमाडौं, साउन १८ । मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १४ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।

बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यस निष्काशनमा साउन १८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हालसम्म ३५ गुणा बढीको आवेदन परेको छ ।

कम्पनीको आईपिओमा आइतबार साँझ ५ बजेसम्ममा १७ लाख ७६ हजार ७ सय ११ जना आवेदकबाट २ करोड ४१ लाख ६३ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको थियो । यो माग भन्दा ३५.२८ गुणा बढी हो । आवेदन दिएको ४ वर्षपछि कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै २०७४ साल असोजमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा २०७८ असार २३ गते बोर्डले अनुमति दिएको हो ।

कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ आयोजना संचालन गरिरहेको छ । २०७१ असारदेखि नै आयोजनाले विद्युत बिक्रि गरिरहेको छ । भूकम्पको कारण आयोजनामा क्षति पुगेर बीचमा उत्पादन रोकिएकोमा २०७३ भदौबाट फेरी उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत ९० करोड २९ लाख ३५ हजार र प्रति मेगावाट लागत १८ करोड ५ लाख ८७ हजार रहेको छ । कम्पनी २०७१ देखि नै विद्युत उत्पादन थालेपनि कम्पनी बल्ल नाफामा जान लागेको छ ।

कम्पनीले नाफा कमाएपनि ठूलो रकम जरिवाना तिर्नु परेको कारणले कम्पनीको संचिति घाटा ठूलो छ । आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को लेखापरीक्षण गरिएको विवरण अनुसार कम्पनीको घाटा क्रमश ७ करोड १६ लाख, ६ अक्रोद ४७ लाख र १ करोड २० लाख रहेको थियो । २०७७ चैत्र मसान्तको लेखापरिक्षकबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ८७ लाख ९६ हजार रहेको छ ।