जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १४:४०

प्रचण्डको अवसरवादले मुलुकमा राजनीतिक संकट उत्पन्न भयो : मुख्यमन्त्री पोखरेल


काठमाडौं, साउन १८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको बताउनुभएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पोखरेलले प्रचण्ड एउटै व्यक्तिमा पैदा भएको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाका कारण देशको राजनितिमा संकट उत्पन्न भएको मात्र होईन एमालेभित्रको अन्तरविरोधलाई समेत मलजल गरेको पोखरेलको आरोप छ।

बुटवलमा ‘जिउँदा जीवराज’ नामक वृत्तचित्रको सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो तीन/ चार वर्षमा संघ, प्रदेश र स्थानीय सरकारका माध्यमबाट तयार गरिएका विकासका आधारशिला पुरा गर्नसके प्रचण्डबीनाको वामपन्थी एकता कायम गर्न सकिने बताउनुभयो ।उहाँले अहिले पनि एमाले पहिलो शक्ति रहेको र भोलि पनि पहिलो शक्ति नै बन्ने दाबी गर्नुभयो । ‘प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाले नै नेकपा विभाजन भयो र एमालेभित्रको अन्तरविरोधमा खेलेर एमाले फुटाउने काममा पनि प्रचण्ड लाग्नुभएको छ,’ उहाँले भन्नुभयो ।

पोखरेलले अहिले एमाले पार्टीको आन्तरिक जीवन कठिन मोडमा रहेको उल्लेख गर्दै अहिलेको अवस्थामा आश्रीतको अभाव झनै खड्किएको बताउनुभयो । ‘अहिले पार्टीभित्रको अनुशासन उलंघन गर्दै पार्टीलाई नै जुन हाकाहाकी चुनौती दिँदै हिड्ने काम भएको छ, आश्रीत हुनुभएको भए उहाँहरूले माफी पाउने थिएनन् र अनुशासन उल्लंघन गर्ने आँट पनि गर्ने थिएनन्।’ पोखरेलले पार्टीको अनुशासनमा नबस्ने जो कोहीलाई पनि ढिलोचाँडो कार्यकर्ताले दण्डित गर्ने समेत बताउनुभयो ।

हिजो राज्यसत्ता विरूद्ध आन्दोलन छेड्ने आश्रीतको योगदानबाट बलियो बनेको एमालेका कतिपय नेताहरु नै अहिले सत्ताको लागि पार्टीलाई कमजोर बनाउँदै पार्टीकै विरुद्धमा लागेको बताउनुभयो । उहाँले आश्रीतले गरेको त्याग र योगदान पार्टीभित्र अहिले ल्याईएको कचिंगलको लागि नभएको भन्दै उहाँको योगदानबाट समेत शिक्षा लिनुपर्ने बताउनुभयो ।

पोखरेलले नेपालमा जबजब बामपन्थी शक्ति एक हुने र बलियो बन्दै जान्छन्, विभिन्न देशी विदेशी प्रतिकृयावादी शक्तिहरु मिलेर बामपन्थी शक्तिलाई कमजोर बनाउने गरेको बताउनुभयो । पोखरेलले नेपालको पछिल्लो संविधान वामपन्थी पार्टीको सहभागिता र संलग्नतामा बनेको उल्लेख गर्दै वामपन्थीको नेतृत्व बिना संविधान कार्यान्वयन हुन नसक्ने दाबी गर्नुभयो । ‘नेपालको अहिलेको संविधान वामपन्थीको संलग्नता र नेतृत्वमा बनेको पहिलो संविधान हो, वामपन्थी सरकार बाहेकले यसको कार्यान्वयन गर्न सक्दैन,’ पोखरेलले भन्नुभयो ।