जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १५:३९

तुईन काटेर महाकाली नदीमा नेपाली युवा बेपत्ता बनाउने एसएसबीकै बचाउमा उत्रिए गृहमन्त्री खाँण



काठमाडौं, साउन १८ । सरकारले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको बिषयमा मौनता साँधेको छ । । गृहमन्त्री बालकृष्ण खाँणले आजको राष्ट्रियसभा बैठकमा महाकालीमा बेपत्ता नेपाली नागरिक धामीको बिषयमा जानकारी गराए पनि एसएसबीको संलग्नताबारे मौन बस्नु भएको हो ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताउनु भयो । यसबारे छानविन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली बनाएको भन्दै गृहमन्त्रीले भन्नुभयो, ‘आज धनगढीतर्फ गइसकेको छ । आवश्यक पर्यो भने हेलिकप्टरमार्फत पनि घटनास्थलसम्म पुर्याउँछौं ।’ यसअघि नै जिल्लाबाट गएको टोलीले जयसिंहभन्दा अगाडि तुइनमार्फत पारी पुग्नेहरुसँग सोधपुछ गरेको र वारी रहेकाहरुलाई सदरमुकाम बोलाइएको उहाँले बताउनु भयो । तर उहाँले प्रत्यक्षदर्शीहरुले भने जस्तो भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काटेको/फुकाएको विषयमा केही बोल्नुभएन ।

सांसदहरुले एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको भनेर प्रत्यक्षदर्शीहरुले भनिसक्दा पनि सरकार किन मौन बसेको भनेर प्रश्न गरेपछि जवाफ दिनुभएका गृहमन्त्री खाँणले एसएसवीको बिषयमा मौनता साँध्नु भएको हो । ‘प्रतिवेदन आएपछि त्यसमा उल्लेख भएका विषय कार्यान्वयनका लागि जुनसुकै अडान लिन सरकार प्रतिवद्ध छ । तर हामी आफैंले छानविन प्रभावित पार्ने गरी कुनै पनि राय दिन मिलेन,’ गृहमन्त्री खाँणले भन्नुभयो ।

गृहमन्त्री खाँणलाई एमाले सांसद् कोमल वली,भगवति न्यौपाने, विमला राई पौड्याल लगायतले भारतीय एसएसबीको ज्यादतीबारे बोल्न नसकेको बताउनु भएको थियो । सो घटनामा भारतसँग हिम्मत गरेर कुरा गर्न पनि उहाँहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।