काठमाडौं, साउन १९ । सत्तारुढ गठबन्धनमा मन्त्रीको भागबण्डाको लफडा निकै चर्किएको छ । मन्त्रीको भागबण्डा नमिलेकै कारण शीर्ष नेताहरुको बैठक बिना निश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा न्यूनतम साझा कार्यक्रम, मन्त्रालय बाँडफाँट तथा मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा छलफल भए पनि कुनै निर्णय हुन नसकेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको छ ।
मन्त्रालय भागबण्डामा कुरा मिल्न नसकेपछि न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्र मन्त्रिमण्डललाई पूर्णता दिन गठबन्धनका नेताहरु सहमत भएका छन् । यद्यपि बैठकले कुनै निर्णय भने गरेको छैन । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमबारे छलफल गरिरहेको छ । आजसम्म न्यूनतम साझा कार्यक्रम तयार पारेर शीर्ष नेतालाई बुझाउनेगरी कार्यदलले काम गरिरहेको छ । कार्यदलमा कांग्रेसबाट डा.मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादीबाट देव गुरुङ र वर्षमान पुन तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य हुनुहुन्छ । कार्यदलप्रति कांग्रेसको देउवा गुटभित्रै चर्काे लफडा रहेको तथ्य जनताटाइम्सले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
मन्त्रीहरुका आकांक्षी धेरै भएपछि र माधव गुटबाट ठोस निर्णय नआएपछि मन्त्रिमण्डलाई पूर्णता दिन गठबन्धन सरकारलाई सकस परिरहेको छ । पछिल्लो पटक सरकार सञ्चालनका लागि संबिधानमै नभएको उच्चस्तरीय संयन्त्र गठन हुनुपर्ने अडानमा माओवादी अध्यक्ष प्रचण्ड उभिएपछि प्रधानमन्त्री देउवा चिढिनुभएको छ । मन्त्रिपरिषद बिस्तार हुन नसकिरहेको बेला कांग्रेस र माओवादी दुवैतिर लफडा चर्किएको छ ।













प्रतिक्रिया दिनुहोस्