जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार ०९:५१

कार्यतालिका छोट्याएर निर्धारित समयमै कांग्रेस महाधिवेशन, यस्तो छ भित्री तयारी


काठमाडौं, साउन १९ । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ । वडा, गाउँपालिकारनगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशस्तरको अधिवेशनको अन्तर एकरदुई दिन मात्रै राखेर भए पनि समयमै अधिवेशन गरिने काँग्रेसले जनाएको छ । काँग्रेसले भदौ १६ गते १४औँ केन्द्रीय महाधिवेशन शुभारम्भ गर्ने तय गरेको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विभिन्न तहको अधिवेशन हुने दिनलाई छोट्याएर कार्यतालिका छोटो बनाउने छ। अब वडा र पालिकास्तरको अधिवेशन सम्भव भएसम्म एकै दिन र नभए एक दिन मात्र फरक गरिनेछ । यसअघिको कार्यतालिकामा वडा र पालिकास्तरको अधिवेशनमा चार दिनको फरक थियो । यसका साथै जिल्ला र प्रदेशस्तरमा हुने फरक पनि छोट्याइनेछ । जिल्लामा पनि प्रदेश निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचनको क्षेत्र र जिल्ला अधिवेशनमा एकरदुई दिनकै फरकमा गरिनेछ । स्थानीयस्तरको पार्टीको संरचनाको अधिवेशनमा लाग्ने दिन छोट्याउन सके निर्धारित समयमै अधिवेशन गर्न सकिने कांग्रेसको भनाई छ ।

कांग्रेसले क्रियाशील सदस्यताका बारेमा देखिएको विवादको किनारा ढिलोमा दुई दिनभित्र टुङ्गो लगाउने भएको छ । मुख्य सचिव पौडेलले शीर्ष नेताहरूले यसमा आवश्यक काम गरिरहनुभएको जानकारी दिँदै ढिलोमा दुई दिनभित्र सबै विवाद समाधान गरिने जानकारी दिनुभयो । यसअघि बसेको पार्टी पदाधिकारी बैठकले क्रियाशील सदस्यताका बारेमा बाँकी रहेको विवाद मिलाउने जिम्मेवारी शीर्ष नेतालाई दिने निर्णय गरेको थियो ।
केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको छानबिन समितिले साउन १२ गते पार्टी सभापति शेरबहादुर देउवालाई छानबिन समितिको अन्तिम प्रतिवेदन बुझाएको थियो । छानबिन समितिले धनुषा, सर्लाही, बारा र सप्तरी गरी चारवटा जिल्लामा नयाँ क्रियाशील सदस्यताको विवाद समाधान गर्न सकेको छैन । पार्टी समायोजनका क्रममा वितरण गरिएको क्रियाशील सदस्यताका कारण सिन्धुपाल्चोक र रसुवा जिल्लाको विवादमा पनि छानबिन समिति निचोडमा पुग्न सकेको छैन । यी सबै विवाद शीर्ष नेतृत्वले नै समाधान गर्ने गरी छानबिन समितिले प्रतिवेदन बुझाएको थियो । मुख्य सचिव पौडेलले अब क्रियाशील सदस्यताको सबै खाले विवाद समाधान गरी पार्टी महाधिवेशनमा जुट्ने जानकारी दिनुभयो ।

क्रियाशील सदस्यताको विवाद निचोडमा पुर्याउन नसक्दा साउन १२ का लागि तोकिएको वडास्तरीय र साउन १६ को पालिकास्तरको अधिवेशन स्थगित गर्ने निर्णय काँग्रेसले यसअघि नै गरिसकेको छ । अव भनेप्रक्रिया छोट्याएर तोकिएकै मितिमा १४औं महाधिवेशन गर्ने निर्णयमा कांग्रेस पुगेको हो ।