जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार १२:३२

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको पहिलो निर्णय नै अबैध, प्रधानमन्त्रीले गरिदिए खारेज


काठमाडौं, साउन १९ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य माफियाको योजना कार्यान्वयन अबैधानिक निर्णय लिनुभएको तथ्य बाहिर आएको छ । राज्यमन्त्री श्रेष्ठले आफूमा हुँदै नभएको अधिकार प्रयोग गरी कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने अबैधानिक निर्णय गर्नुभएको तथ्य खुलेको हो ।

राज्यमन्त्री श्रेष्ठले सोमवार यस्तो निर्णय गर्नुभएको थियो । बीर अस्पतालमा रहेको बदमास र कामचोर कर्मचारी एवं स्वास्थ्य माफियाको योजनामा धक्का दिएपछि गौतमबिरुद्ध सो अस्पतालको गिरोह परिचालित भएको थियो । सोही आधारमा मन्त्रिपरिषदले नियुक्त गरेका डा. गौतमलाई राज्यमन्त्रीले हटाएर प्रसुती गृह पठाउने निर्णय गर्नुभएको थियो । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको यो निर्णय अबैधानिक रहेको स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले खुलासा गर्दै कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय खारेज गर्नुभएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गर्नुभएको थियो भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाउनु भएको थियो ।

यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाउनु भएको थियो । तर प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले यस्तो निर्णय गर्न नमिल्ने भन्दै खारेज गर्नुभएको हो । प्रधानमन्त्री देउवाले गर्न नहुने काम किन गरेको भन्दै राज्यमन्त्री श्रेष्ठलाई हप्काउनु भएको स्रोतले बतायो ।