जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार १५:१६

गृहमन्त्रीको जवाफले एमाले सांसद आक्रोशित, सरकारको नियतमाथि नै उठाए गम्भीर सवाल


काठमाडौं, साउन १९ । दार्चुलाका ३३ बर्षीय युवा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संलग्नताबारे गृहमन्त्री बालकृष्ण खाँण मौन बसेपछि एमाले सांसदहरूले कडा प्रश्न उठाउनु भएको छ । गृहमन्त्री खाँणले दार्चुला घटनाबारे संसदमा दिएको जानकारी गैरजिम्मेवारपूर्ण रहेको भन्दै एमाले सांसदहरुले आक्रोशसमेत पोख्नुभएको छ ।

पूर्वगृहमन्त्री तथा एमाले सांसद खगराज अधिकारीले यस घटनामा गृहमन्त्रीको प्रस्तुति घुमाउरो र हलुका भएको टिप्पणी गर्नुभयो । ‘यस्तो अपराधपूर्ण क्रियाकलापबाट मृत्युवरण हुँदा नेपाल सरकारचाहिँ आफैं चुँडिएको जस्तो निमुखो तरिकाले प्रस्तुत भएको छ । यो हाम्रो स्वाभिमानविपरीत हो । यस्तो तरिकाले अपराधीमाथि कारवाही हुन सक्दैन,’ गृहमन्त्रीको जवाफप्रति आक्रोश पोख्दै अधिकारीले भन्नुभयो ।

एमाले सचेतकसमेत रहनुभएकी सांसद शान्ता चौधरीले पनि गृहमन्त्री खाँण निकै हल्का र गैरजिम्मेवाररूपमा प्रस्तुत भएको बताउनु भयो । ‘प्रत्यक्षदर्शीले नै एसएसबीले तुइन काटेको भनिसकेका छन । गृहमन्त्री अझै हामी जानकारी लिइरहेका छौं भन्नुहुन्छ । यस्तो हल्का पाराले प्रस्तुत हुन उहाँलाई नैतिकताले दिँदैन । एसएसबीको ज्यादतीमा हामी मौन बस्न सक्दैनौं,’ चौधरीले भन्नुभयो ।

दार्चुलाबाट निर्वाचित एमालेकै सांसद गणेशसिंह ठगुन्नाले पनि प्रत्यक्षदर्शीका बयान आइसक्दा पनि सरकारले आलटाल गरेको भन्दै आक्रोश पोख्नुभयो । यस विषयमा सरकारले भारत सरकारसमक्ष के कुरा गरेको छ भन्दै ठगुन्नाले प्रश्न गर्नुभयो । आज बोल्ने एमालेका अन्य सांसदहरुले समेत दार्चुला घटनामा सरकार भारतको सामू लम्पसार परेर कम्फर्टेव लबनेको भन्दै आक्रोश पोखेका थिए ।