जनता टाइम्स

२० श्रावण २०७८, बुधबार ०८:२३

भूकम्पबाट प्रभावित ३७५ विद्यालय भवनको पुनर्निर्माण


हेटौडा, साउन २० । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुर जिल्लामा क्षति पुगेका कूल ४०९ सामुदायिक विद्यालयमध्ये हालसम्म कूल ३७५ वटा विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गतको मकवानपुरस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) हेटौँडाका अनुसार गत आर्थिक वर्ष ०७७/७८ सम्म जिल्लाभित्र कूल ३७५ विद्यालयको कूल एक हजार ६६५ कक्षाकोठा निर्माण सम्पन्न भएको हो ।

मकवानपुरका तत्कालीन अवस्थामा रहेको कूल ५१६ विद्यालयमध्ये ४०९ विद्यालयका दुई हजार ३१० कक्षाकोठालाई भूकम्पले पूर्ण क्षति पुर्याएको थियो । तीनवटा मोडालिटीमा क्षति पुगेका विद्यालयको पुनर्निर्माण कार्य तीव्ररूपमा अगाडि बढाइरहेको हेटौँडास्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख बद्री पाठकले जानकारी दिनुभयो ।

पुनर्निर्माण सम्पन्न भएका विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण हुने ३१३, सङ्घसंस्थाको सहजीकरणमा ३२ र जापान सरकारको ऋण सहयोग (जाइका) र एशियाली विकास बैंक (एडीबी)का तर्फबाट ३४ वटा छन् । विद्यालयमा कक्षाकोठाबाहेक १४९ विद्यालयमा शौचालय व्यवस्थापन र ८४ विद्यालयमा खानेपानी व्यवस्थापन सम्पन्न गरिएको छ । पहिलो मोडालिटीअनुसार विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण हुने कूल विद्यालय भवनतर्फ ३१३ विद्यालय भवनको एक हजार २६ कक्षाकोठा, १४९ शौचालय र ८४ विद्यालय खानेपानी कार्यक्रम रहेको छ । सोमध्ये आव २०७३/७४ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा र २०७४/७५ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा निर्माण सम्पन्न भएका छन् ।

आव २०७५/७६ ९प्रथम० मा ६५ विद्यालय भवनका २०० कक्षाकोठा, आव २०७५/७६ ९दोस्रो०मा ५१ विद्यालय भवनका १५३ कक्षाकोठा तथा ७० शौचालय निर्माण भएको थियो । यस्तै २०७६/७७ मा ६१ विद्यालय भवनका २०५ कक्षाकोठा, ७९ शौचालय र ८४ खानेपानी व्यवस्थापन कार्यक्रम प्राप्त भएको थियो । उक्त कार्यक्रम आव २०७७/७८ मा निर्माण भएको कार्यालयले जनाएको छ । यस्तै आव २०७७/७८ का लागि थप आठ विद्यालय भवनका २८ कक्षाकोठा निर्माणका लागि कार्यक्रम थप भइआएको थियो ।

जाइका र एडीबीका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत ठेक्का सम्झौता भएका गरी कूल ५६ विद्यालयका ७०० कक्षाकोठा बोलपत्र प्रक्रियाबाट निर्माण हुने क्रममा रहेको छ । त्यस्तै सङ्घसंस्थाका तर्फबाट स्थायी प्रकृतिका जम्मा ३२ विद्यालयमा २२१ कक्षाकोठा निर्माण भएको थियो । एकाइका प्रमुख पाठकका अनुसार आव २०७७/७८ को असार मसान्तसम्म जिल्लामा तीनवटै मोडालिटीबाट कूल ४०९ विद्यालय भवनका एक हजार ९४७ कक्षाकोठा निर्माण कार्य अगाडि बढेकामा ३७५ विद्यालयका एक हजार ६६५ कक्षाकोठा निर्माण सम्पन्न भएका छन् ।

त्यसैगरी १४९ शौचालय र ८२ विद्यालयमा खानेपानी व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । हाल ३४ विद्यालयका २८२ कक्षाकोठा निर्माणाधीन छन् । हाल एडिबीको ऋण सहयोगमा थप चार विद्यालय निर्माणका लागि बोलपत्र प्रक्रियाको सूचना प्रकाशन भइसकेको छ । यसैबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालय (शिक्षा) को खर्च प्रगति उल्लेखनीय भएको पाइएको छ । कार्यालयले आर्थिक वर्ष २०७७/७८ को भौतिक प्रगति ९८.२० प्रतिशत रहेको जनाएको छ ।

यसैबीच जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालयमध्ये १३८ विद्यालयमा जग्गा अभाव, न्यून विद्यार्थी, यातायातको पहुँच नपुगेको र आवश्यकता नभएका जस्ता कारण भौतिक निर्माण कार्यक्रम समावेश गर्न सकिएको अवस्था छैन । विसं २०७२ वैशाख १२ गते शनिबार आएको सो भूकम्पबाट जिल्लामा ४६ सरकारी भवन, ६५ स्वास्थ्य संस्था, १२४ गुम्बालगायत मठमन्दिरहरूमा क्षति भएको थियो । रासस