जनता टाइम्स

२० श्रावण २०७८, बुधबार १६:१०

कुलमानको नियुक्तिबारे फेरियो ऊर्जामन्त्रीको कुरा


काठमाडौं, साउन २० । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल बिद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई निर्देशन नदिएको बताउनु भएको छ । मन्त्री भुसालले बर्तमान प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउनु भएको भएपनि कुलमान नियुक्ति गर्न आफूलाई नभनेको बताउनु भएको हो ।

प्रधानमन्त्री देउवाको सचिवालयबाट मंगलबार प्रधानमन्त्री उवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको सूचना दिइएको थियो । सोही सूचनाका आधारमा मिडियामा कुलमानको नियुक्तिको विषयमा समाचार बनेको थियो । तर सो सूचना नै झुटो रहेको मन्त्री भुसालको भनाईले प्रष्ट पारेको छ । आज केही मिडियासँग कुराकानी गर्दै मन्त्री भुसालले कुलमानलाई विद्युत प्राधिकरणको प्रमुखका रूपमा नियुक्तिको निर्देशन प्रधानमन्त्री देउवाबाट कुनै निर्देशन नभएको भन्दै कुलमानलाई बिद्युत प्राधिकरणको प्रमुख बनाउने कुरा झुटो रहेको तथ्य खोल्नुभयो ।

उहाँले प्रधानमन्त्री देउवाले हालका प्रमुख हितेन्द्रदेव शाक्यको कार्यसम्पादनमा असन्तुष्टि जनाए पनि कुलमानको नियुक्तिको विषयमा आफूलाई कुनै पनि निर्देशन नदिएको भन्दै कुलमानलाई मिडिया ट्रायल गरिएको तथ्य खोल्नुभएको हो । कुलमानलाई बिद्युत प्राधिकरणमा नियुक्तिको तयारी गर्नेबारे कुनै निर्देशन दिनुभएको छैन, कुलमानलाई नियुक्त गर्ने बिषय पनि मलाई थाह छैन, मन्त्री भुसालको भनाई छ । प्रबन्ध निर्देशक शाक्यको कार्यकाल आगामी २०८१ माघ २५ गते सकिन्छ ।