जनता टाइम्स

२० श्रावण २०७८, बुधबार १६:४६

देउवा सरकारको अर्को काण्ड : शिक्षक परीक्षामा अख्तियारले भ्रष्टाचारी ठहर गरेकै व्यक्ति शिक्षक सेवा आयोगमा नियुक्त


काठमाडौं, साउन २० । परमादेशबाट नियूक्त हुनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्व सरकारले दिन प्रतिदिन अलोकप्रिय काम गर्दै आएको छ । देउवाले गरेको हरेक कामहरु विवाद रहित हुन सकेका छैन । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारवाहीमा परेका व्यक्तिलाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरेको खुलेको हो ।

शिक्षक सेवा आयोगमा नवनियुक्त सदस्य डिल्लीराम रिमाललाई अख्तियारले २०६३ सालमा आफन्तलाई शिक्षक सेवामा पास गराइ भ्रष्टाचारजन्य कार्य गरेको ठहर गरेको थियो । माध्यमिक तहका शिक्षक पदको लेखा विषयका प्रश्नपत्र निर्माण, मोडरेशन,उत्तरपुस्तिका परीक्षणलगायतका काममा संलग्न भइ आफन्तलाई पास गराएको लाई माध्यमिक तहका शिक्षक पदको परीक्षामा आफन्तलाई उत्तीर्ण गराएको भन्दै रिमाललाई अख्तियारले कारवाहीको निर्देशन दिएको थियो । शिक्षा मन्त्रालयको उपसचिव रहँदा रिमाललाई प्रश्नपत्र निर्माणको कार्यमा विशेषज्ञका रूपमा पठाएको र सोही विषयको उत्तर पुस्तिका परीक्षण पनि उहाँलेनै गरेर भाइ नाता पर्ने लेखनाथ रिमाललाई पास गराई अन्तर्वार्तामा सामेल गराएको अख्तियारको छानविनले पुष्टी गरेको थियो ।

तत्कालीन अवस्थामा रिमाल सिरहाको जिल्ला शिक्षा अधिकारी रहे पनि कार्यालयबाट बिदा लिई काठमाडौं आएको र लेखा विषयका उत्तरपुस्तिका परीक्षण गरेको अख्तियारको निर्णयमा उल्लेख छ । अख्तियारले थप कारवाहीका लागि शिक्षक सेवा आयोगमा लेखेर पठाएको थियो । तर, यसबीचमा रिमाल शिक्षा मन्त्रालयको सहसचिवबाट अवकाश भइसकेर शिक्षक सेवा आयोगकै सदस्यमा नियुक्त हुनुभएको हो । शिक्षकको परीक्षामा भ्रष्टाचारजन्य कार्य गरेको भनेर अख्तियारले किटान गरेका व्यक्तिलाई नै शिक्षक सेवा आयोगको सदस्य बनाइएपछि आयोगको निष्पक्षमा प्रश्न उठ्ने भन्दै नियुक्ति बदर गर्न उच्च अधिकारीहरूले सुझाव दिएका छन् ।