जनता टाइम्स

२२ श्रावण २०७८, शुक्रबार २०:३०

माधव समुहको प्रस्ताव एमालेको हितमा छैन, एकताको नाममा अव पार्टीका काम रोकिन्न : प्रवक्ता ज्ञवाली


काठमाडौं, साउन २२ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एकताका नाममा अव पार्टीका काम नरोकिने प्रष्ट निर्णय सुनाउनु भएको छ । आज बसेको पार्टीको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता ज्ञवालीले अनन्तकालसम्म पार्टीका गतिविधिलाई अवरुद्ध गरेर जान नसकिने निर्णय सुनाउनु भएको हो ।

‘पार्टीका नियमित कामहरु अगाडि बढछन, छलफलहरु पनि चल्छन, तर छलफलका नाममा अनन्तकालसम्म पार्टी कामलाई रोक्न सक्दैनौं,’ प्रवक्ता ज्ञवालीले भन्नुभयो । उहाँले एमालेको हितमा नरहेका सुझावमा अल्झिन नसकिने र अल्झेर बस्न पनि उचित नहुने पनि प्रष्ट पार्नुभयो । प्रमुख प्रतिपक्षी पार्टी हातखुट्टा बाँधेर बस्नुपर्छ भन्ने सुझाव एमालेको हितमा नहुने उहाँको भनाई छ ।

‘स्थानीय चुनाव नजिक आउन थालिसक्यो, त्यसबारेमा कुनैपनि तयारी नहुने, पार्टीको महाधिवेशन गर्ने समय नजिकि आइसक्यो त्यसको बारेमा कुनै तयारी नहुने, सत्तापक्ष आक्रामक ढंगले आक्रामक हुन थालिसक्यो, जनतासँग जोडिएका महत्वपूर्ण विषयलाई उल्टाउन थाल्यो या विभिन्न खालका जनविरोधी गतिविधि गर्न थाल्यो त्यस्तो बेलामा प्रमुख प्रतिपक्षलाई कुनै पनि काम गर्न नदिएर हात खुट्टा बाँधेर बस भन्ने कुरा नेकपा एमालेको हितको कुरा होइन,’ प्रवक्ता ज्ञवालीले भन्नुभयो ।

आजको माधव नेपाल समुहको गुट बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण, विधान अधिवेशन लगायत कामले एकतालाई भाँजो हाल्ने भन्दै संगठनात्मक गतिविधि रोक्न आग्रह गरेको थियो । आज बसेको एमालेको अनौपचारिक बैठकमा पनि माधव समुहको मागबारे छलफल भएको थियो । सो छलफलमा विधान संशोधनबारे छलफल गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । ‘आउने विधान महाधिवेशनबाट संशोधन गर्नुपर्ने विधानका विभिन्न पक्षहरुको बारेमा छलफल गरेका छौं, बैठकमा स्थायी कमिटीका सबै कमरेडहरु, स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरू लगायत सहभागी हुनुभएको थियो,’ ज्ञवालीले भन्नुभयो ।