जनता टाइम्स

२ असार २०७६, सोमबार ०८:२४

प्रवासी नेपालीलाई शिक्षामन्त्रीको आग्रह : स्वदेशमा लगानी गर्नाेस


शान्त पहरी/टोकियो

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रवासको ज्ञान शिपलाई स्वदेशमा लगानी गर्न जापानमा रहेका नेपाली युवालाई आग्रह गर्नु भएको छ ।

टोकियोमा आईतवार नेकपाका प्रवास संगठन प्रवासी नेपाली एकता मंच समर्थित नेता तथा कार्यकर्ताको आयोजनामा गरेको सभामा बोल्दै मन्त्री पोखरेलले विदेशको शिप ज्ञान देश विकासमा लगानी गर्न आग्रह गर्नु भएको हो । गुणस्तरिय जनशक्ति उत्पादनमा शिक्षाप्रणालीमा सुधार्न नयाँ ढंगले सोचिएको बताउदै मन्त्री पोखरेलले अब विश्व बजारमा विक्न सक्ने उच्चशिक्षाको हुनुपर्नेमा जोड़दिनु भयो ।

नेपालको शिक्षा प्रणालीबाट केवल डिग्री हासिल गर्ने काम मात्र भएकोले परिवर्तित सन्दर्भमा अब उच्चशिक्षाको लक्ष परिवर्तन गरिनुपर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्र असल नागरिक उत्पादन गर्ने ज्यादै संवेदनशील र महत्वपूर्ण क्षेत्र भएकोले आफ्नो माटो र देश चिनेर राष्ट्रप्रति वफादार र जिम्मेवारी निर्बाह गर्ने सक्षम जनशक्ति तयार गर्ने दिशामा अबको उच्चशिक्षाको लक्ष हुनुपर्ने मन्त्री पोखरेलको धारणा थियो ।

जापान सरकारको निमन्त्रणामा एक अनौपचारिक सम्मेलनको लागि भाग लिन जापान आउनु भएका मन्त्री पोखरेलले वर्तमान सरकारले विकासको छलाङ्लाई नेतृत्व गर्ने जनशक्ति उत्पादन हुने प्राविधिक शिक्षामा जोड दिएको बताउनुभयो । हाल नेपालको साक्षरता प्रतिशत ८२ रहेको तथ्य अगाडि सार्दै अबको एक दशकमा शतप्रतिशत पुर्‍याई विद्यालय नजाने बालबालिकाको संख्या शुन्यमा झार्ने सरकारको लक्ष रहेको बताउदै प्राविधिक शिक्षालाई जोड दिई सीपयुक्त जनशक्ति तयार गरिने बताउनुभयो ।

उच्च शिक्षा जस्ता नेपालका लागि आवश्यकीय नयाँ नयाँ बिषयमा उच्चशिक्षा प्रदान गरिने सरकारको योजना रहेको पनि मन्त्री पोखरेलले जानकारी गराउनुभयो ।नेपालको शिक्षा प्रणालीमा रहेका कमीकमजोरी र सरकारले लिएको अबको शैक्षिक नीतिका लागि आफु प्रतिबद्ध भएर लागिपरेको मन्त्री पोखरेलले बताउनु थियो ।

नेकपाका नेता तथा नेपाल सरकारका शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री गिरिराजमणि पोखरेलले टोकियोमा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री स्वर्गीय डिआर पौडेलको श्रद्दान्जलीसभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले स्वर्गीय पौडेलको देश र पार्टीप्रतिको योगदान अतुलनीय रहेको बताउनु भयो ।

श्रद्दान्जलीसभामा नेपाली प्रवासी एकता मंचको नेताहरू सिद्धार्थ श्रेष्ठ,राजकुमार पण्डित र बेलूक़ाज़ी थापाले आफ़नो धारणा राख्नु भएको थियो । पूर्व शिक्षामन्त्री धनिराम (डिआर) पौडेलको जेठ ३१ गते शुक्रबार बिहान चितवनको माडि स्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको थियो । स्वर्गीय पौडेलको सम्झनामा जापानमा पनी नेकपाको प्रवास संगठनले आइतवार श्रद्दान्जली सभा गरेको थियो ।