जनता टाइम्स

२५ श्रावण २०७८, सोमबार ०६:३०

आधुनिक पाटने प्रधान र ओली लहर


गोर्खाको कीर्तिपुरमाथिको तेश्रो हमलाको बेलाको सन्दिग्ध भूमिका हेरेर छ प्रधानहरुले राजा दलमर्दन शाहलाई सत्ताच्यूत गरी कैद गरे र व्यापारी तेजनरसिंह मल्ललाई गद्दीमा राखे । तेजनरसिंह मल्लकै शासनकालमा १८२५ साल असोजमा पाटनले स्वधीनता गुमायो । छ जना पाटने प्रधाानले आफ्नो बत्तीस वर्षे अवधिमा १२ जना राजा फेरेका थिए । षटकोण झुण्डका कारणले आजको नेपालले पनि यी २८ वर्षमा २८ पटक सरकार फेरबदलीको पीडा ब्योहोरी सकेको छ । पाटने प्रधानलाई दण्डित गर्न इतिहासले गोर्खाको लय, गति र उन्नति पर्खनु पर्यो भने आधुनिक पाटने प्रधानलाई पूर्णविराम लगाउन जनताको अदालतले एमाले जन्माइसकेको छ

दयालबहादुर शाही

२०५१ सालमा आफ्नै जीवन गुरु गिरिजाप्रसाद कोइरालाको सरकार ढाल्न शेरबहादुर देउवाले छत्तीसे गुटको कलापूर्ण निर्माण र परिचालन गरेयता नेपालमा सरकार गठन पुनर्गठनको सुनामी आइरहेको छ । छत्तीसेमध्येमा देउवाको भूमिका सैतीसे रहेको २०५१ सालमा शेरबहादुर देउवा गृहमन्त्री छँदा गृहसचिव रहेका श्रीकान्त रेग्मी स्वीकार गर्छन । आफै गृहमन्त्री रहेको सरकार ढाल्न छत्तीसे सांसदलाई देउवाले नै आर्थिक भरथेग गरेको सुईंको पाएपछि यसबारेमा आफूले देउवालाई ‘अनैतिक काम’ भनेर सचेत गराएको कुरा रेग्मीले यो पंक्तिकारलाई बताएको एक दशक भयो । देउवाका गतिविधि नरोकिएपछि स्याङ्जा कांग्रेसका नेता खगेन्द्रराज रेग्मीका भाइसमेत रहेका गृहसचिव रेग्मीले देउवाको गद्दारीबारे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जानकारी गराए । अन्ततः एक वर्षको अन्तरमा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलाई सत्ताच्यूत पारी २०५२ साल भदौमा शेरबहादुर देउवा प्रधानमन्त्री भएरै छाडे । छत्तीसेको सृष्टिकर्ता र पालनकर्ता देउवा नै भएको सही सूचना जीपीलाई दिएको बदला लिदै देउवाले श्रीकान्त रेग्मीलाई मुख्यसचिव हुनबाट बञ्चित पारे ।

अस्थिरताको लहरले देउवा सरकारलाई पनि बढार्यो । दीपकजंग शाह र चक्रबहादुर शाहीलाई अनुपस्थित गराएर गिरिजाप्रसाद कोइरालाले देउवामाथि बदला लिए । यस्तो अस्थिरताको हुण्डरीकै बीचमा भारतले पुष्पकमल दाहाल, प्रचण्ड र डा. बाबुराम भट्टराईलाई भारतको नोयडामा ठाउँ दिएर नेपालविरुद्ध रणनीतिक दासहरु तयार पार्यो । यता सरकारबाट उखेलिने र फ्याँकिने सिलसिला चलिरह्यो । आफ्नो दलको संसदीय दलको नेता मनमोहन अधिकारीको अनादर गरी लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीको कुर्सीमा मूर्ति थपना गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनेदेखि एमाले विभाजनसम्मको हर्कतमा उत्रन उत्कर्षकालका वामदेव गौतमलाई कुनै शरम लागेन । चन्दलाई विस्थापन गर्न सूर्यबहादुर थापा अघि सरे । सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउने गिरिजाप्रसाद कोइराला स्वयं प्रधानमन्त्री भए ।

२०५६ सालमा बहुमत पाएपनि कांग्रेसले राजनीतिक स्थिरता दिन सकेन । तीन वर्षमा क्रमैले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री पदबाट पदच्यूत भए । राजाले संविधान कुल्चेर सत्ता हत्याए पनि कठपुतली सरकार आउने जाने क्रम चलिरह्यो । राजाले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, शेरबहादुर देउवालाई ल्याउने र फ्याँक्ने क्रिया जारी राखे र अन्ततः जनताबाट आफै फ्याँकिन पुगे । सेनापतिसँगको अनावश्यक इगो बहाना भए पनि एमाले र फोरमको बलियो साथ पाएर प्रचण्डका उफ्रिखेल्ने कुम सुस्ताउनुको मूल कारण सत्ताकब्जा गरी जनवादी सत्ता र अधिनायकवाद स्थापना गर्ने बेइमानी थियो । राष्ट्रपति नदिएको झोकमा अवसरवादी कित्ताबाट जीपी र केपीको लोकतान्त्रिक कित्तामा उभिएका माधव नेपाललाई प्रधानमन्त्रीको लट्री पर्यो । काँडा निकाल्न काँडैको प्रयोग नीति अख्तियार गरी झलनाथ खनाल उचालेर माधवलाई पदच्यूत गर्ने दाउमा रहेका प्रचण्डलाई रोक्न ओली एक्लैको जोर चलेन ।

अन्ततः माधव, झलनाथ र बाबुरामलाई क्रमैले सत्ताच्यूत गर्नका निम्ति प्रचण्डलाई बहाना पनि भेटिए र सफलतामा पनि मिल्यो । सुशील कोइराला र केपी ओलीबीच दरार ल्याउनमा पनि देउवा र दाहाललाई सफलता मिल्यो । २०७३ सालमा र यस पटक केपी ओलीलाई सरकारबाट विस्थापन गर्नमा पनि देउवा र दाहालको चोचोमोचोले काम पाएको छ । अझ यसपटक एमाले बिरुद्धको चक्रब्यूह रच्ने क्रममा देउवा, दाहाल, नेपाल, खनाल, गौतम र भट्टराईको संगठित र नियोजित हमला जुन देखियो, यसबाट अस्थिरताका कारकतत्वहरु जनताले देखिने गरी उदांगो भए । छ जना नेतामा आफ्नो अस्थिर चरित्रप्रति जनता सामु नत माफी माग्ने ज्ञान छ नत कलंकित इतिहासप्रति लाजघिन नै शेष रहेको छ । यस अस्थिर षटकोणको भूमिका इतिहासका बदनाम पात्रहरु पाटने प्रधानसँग मिल्दोजुल्दो छ भने यिनका कारणले बिगत तीन दशकयता नेपालले भोग्नुपरेको अस्थिरता नेपाल एकीकरण पूर्वउपत्यकाको राज्य ललितपुर वा पाटनले भोग्नु परेको चरम अस्थिरतासँग मिल्दोजुल्दो छ ।

स्थिर देशले हासिल गर्ने उन्नति र सफलता तथा अस्थिर देशले भोग्नु पर्ने बर्बादी र विनाशलीलाबारे एकीकरणअघिको गोर्खा र ललितपुरको तुलनात्मक अध्ययन उपयोगी हुनसक्छ । बि. सं. १७६२ सालमा ललितपुरका राजा योगनरेन्द्र मल्लको तमाखुमा हालेको विषका कारणले मृत्यु हुँदा त्यस समयमा गोर्खामा पृथ्वीपति शाह राजा थिए । युवराज वीरभद्र शाहको मृत्यु भएकाले बि. सं. १७७३ सालमा पृथ्वीपति शाहको मृत्यु हुँदा उनका नाति नरभूपाल शाह राजा भए । बि. सं. २००० सालमा नरभूपाल शाहको मृत्यु भएपछि पृथ्वीनारायण शाह राजा भए । यसरी १८२५ सालसम्म आइपुग्दा ६३ वर्षमा गोर्खाले ३ जना मात्र राजा पाउँदा पाटनले १६ जना राजा बेहोरेको थियो । पृथ्वीपति शाह, नरभूपाल शाह र पृथ्वीनारायण शाहको पालामा पाटनमा भएका राजाहरु यसप्रकार थिए– (१) योगनरेन्द्र मल्ल (२) लोकप्रकाश मल्ल (३) इन्द्र मल्ल (४) महिन्द्र मल्ल (५) वीरनरसिंह मल्ल (६) ऋद्धिनरसिंह मल्ल (७) भास्कर मल्ल (८) योगप्रकाश मल्ल (९) विष्णु मल्ल (१०) राज्यप्रकाश मल्ल (११) विश्वजित मल्ल (१२) जयप्रकाश मल्ल (१३) रणजित मल्ल (१४) जयप्रकाश मल्ल (१५) दलमर्दन शाह (१६) तेजसिंह मल्ल ।

यी सबै राजाहरुमध्ये धेरै राजाहरुको आगमन र अन्त्यमा पाटनमा जमेका छ जना प्रधानहरुको नग्नता, स्वेच्छाचारिता, रजगज र कपट सिलसिला आजको नेपालको षटकोण झुण्ड देउवा, दाहाल, नेपाल, खनाल, गौतम र भट्टराईकै जस्तो थियो । योगनरेन्द्र मल्लको वैध सन्तान नभएकाले उनकी छोरी योगमतीले आफ्नो सात वर्षको छोरा लोकप्रकाश मल्ललाई राजा बनाइन र आफू नायबी भएर शासन गर्न थालिन । एक वर्ष नपुग्दै लोकप्रकाश मल्लको मृत्यु भयो । त्यसपछि योगप्रकाशका भानिज इन्द्र मल्ल राजा भए । यिनको पनि चाँडै मृत्यु भयो । त्यसपछि योगनरेन्द्र मल्लका मठ्याहा छोरा महीन्द्र मल्ल राजा भए । यिनकी माता राजराजेश्वेरी र योगमतीबीच खटपट सुरु भयो । योगमतीले वीरनरसिंह मल्ललाई राजा बनाइन । यसरी पाटनमा द्वैध शासन सुरु भयो । यस्तैमा महीन्द्र मल्लको मृत्यु भयो । त्यसपछि क्रमशः ऋद्धिनरसिंह मल्ल, भास्कर मल्ल, योगप्रकाश मल्ल र विष्णु मल्ल राजा भए । योगमती जीवित रहँदासम्म लुकिछिपी खेल्ने छ जना प्रधानहरु योगमतीको मृत्युपछि सक्कली अनुहारमा आएर हर्कत गर्न थाले । राजा विष्णु मल्ल निसन्तान थिए । छ प्रधानहरुले कान्तिपुरबाट पाटनमा शरण बसेका राज्यप्रकाश मल्ललाई राजा माने । आफूसँग मत नमेलेपछि छ प्रधानहरुले राज्यप्रकाशको आँखा फुटाइदिए । पीडा सहन नसकी राज्यप्रकाशको मृत्यु भयो ।

त्यसपछि विश्वजित मल्ललाई गद्दीमा राखियो । एउटा अनुचित प्रेम बहाना झिकेर छ प्रधानले राजा विश्वजित मल्ललाई काटे । त्यसपछि पाटनको गद्दीमा कान्तिपुरबाट सत्ताच्यूत भएका राजा जयप्रकाश मल्ललाई प्रधानहरुले बसाले । एक दिन जयप्रकाश मल्ल टेकु दोभाननेर नुहाउन गए । उनलाई नरुचाएका प्रधानहरुले ढुंगामुडा गरेर लखेटे । त्यसपछि पाटने प्रधानको रोजाईमा भक्तपुरका राजा रणजित मल्ल परे । रणजित मल्लले भक्तपुर जस्तै पाटनमा पनि जनताको सुखदुःखलाई प्राथमिकतामा राखे । रणजित मल्ललाई जनताले रुचाउन थाले । नयाँ राजाको लोकप्रियता आफ्नो स्वेच्छाचारिताको लागि बाधक हुने देखेर छ प्रधानहरु उनको विस्थापनको दाऊ हेर्न थाले । एक दिन रणजित मल्ल शंखमूलमा श्राद्ध गर्न गए । छ प्रधानहरुले यही मौका छोपेर उनलाई पनि लखेटे ।

त्यसपछि पाटनका राजा भएका जयप्रकाश मल्लले छ प्रधानलाई दण्डित गर्न खोजे तर आफै पदच्यूत भए । त्यसपछि प्रधानहरुले पृथ्वीनारायण शाहलाई पाटनको राजा हुन आमन्त्रित गरे । पृथ्वीनारायण शाहले आफू नआई भाइ दलमर्दन शाहलाई पाटन पठाए । गोर्खाको कीर्तिपुरमाथिको तेश्रो हमलाको बेलाको सन्दिग्ध भूमिका हेरेर छ प्रधानहरुले राजा दलमर्दन शाहलाई सत्ताच्यूत गरी कैद गरे र व्यापारी तेजनरसिंह मल्ललाई गद्दीमा राखे । तेजनरसिंह मल्लकै शासनकालमा १८२५ साल असोजमा पाटनले स्वधीनता गुमायो । छ जना पाटने प्रधाानले आफ्नो बत्तीस वर्षे अवधिमा १२ जना राजा फेरेका थिए । षटकोण झुण्डका कारणले आजको नेपालले पनि यी २८ वर्षमा २८ पटक सरकार फेरबदलीको पीडा ब्योहोरी सकेको छ । पाटने प्रधानलाई दण्डित गर्न इतिहासले गोर्खाको लय, गति र उन्नति पर्खनु पर्यो भने आधुनिक पाटने प्रधानलाई पूर्णविराम लगाउन जनताको अदालतले एमाले जन्माइसकेको छ । २०७४ सालदेखि नेपाली धर्तीमा उठेको ओली लहर आधुनिक पाटने प्रधानको टाउकोमा कालले फहराएको ध्वजा हो ।