काठमाडौं, साउन २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई असंवैधानिक बनाउन खोजेको बताउनुभएको छ । आफूनिकट जिल्ला सभापतिहरुको बैठकमा बोल्दै नेता पौडेलले पञ्चायतकालमा कांग्रेसलाई (प्रनेका) प्रतिबन्धित नेपाली कांग्रेस भन्ने गरिएकोमा अब देउवाले (अनेका) असंवैधानिक नेपाली कांग्रेस बनाउन खोजेको आरोप लगाउनुभएको हो । पौडेलले भन्नुभयो ‘पञ्चायतकालमा प्रतिबन्धित थियौं । कांग्रेसलाई प्रनेका भनिन्थ्यो । अब विधान र संविधानको उल्लघंन गरेर कांग्रेसलाई देउवाले अनेका बनाउने भए । अनेका भनेको असंवैधानिक नेपाली कांग्रेस है’, ।
उहाँले महाधिवेशन सार्ने कुरा आफूलाई मान्य नरहेको बताउनुभयो । पार्टीको विधानले ४ वर्षको कार्यकाल तोकेपनि सभापतिले बारम्बार विधान उल्लघंन गरेको र अहिले संविधान नै मिच्न खोजेको आरोप लगाउनुभयो । ‘हिजो विधान मिचे, आज संविधान मिच्न खोज्दैछन् । मैले पहिले नै विशेष महाधिवेशनका लागि हस्ताक्षर गरौं भन्दा मान्नुभएन ।
अब अहिले हस्ताक्षर जुटाउदा पनि संवैधानिक सीमाभित्र विशेष महाधिवेशन हुँदैन । त्यसैले जसरी हुन्छ संविधानले तोकेको म्यादभित्रै निर्वाचन गर्नुपर्छ’, पौडेलले भन्नुभयो । संविधानले प्रदेश र संघीय पदाधिकारीको निर्वाचन ढिलोमा साढे ५ वर्षभित्र गर्नैपर्ने व्यवस्था गरेको भन्दै पौडेलले कांग्रेसमा अब महाधिवेशन नभएर निर्वाचन मात्रै हुने बताउनुभयो । ‘तत्काल क्रियाशीलको काम टुंग्याएर साउन २८ गते महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका तयार गरौं ।
ढिलोमा भदौ १८ मा क्षेत्रीय अधिवेशन सकेर देशैभरका महाधिवेशन प्रतिनिधि छानौ । लगत्तै प्रदेश प्रदेशमा नभए जिल्लामै मतदान गरेर भएपनि संविधानले भनेको निर्वाचन गरौ’, पौडेलले भन्नुभयो । उहाँले कोभिडका कारण महाधिवेशन हुँदैन भन्नु लज्जास्पद कुरा भएको बताउनुभयो । ‘कोभिडका कारण संसारमा कहि निर्वाचन रोकिएको छैन । अमेरिका र भारतमा मात्रै होइन नेपालमै पत्रकार र उद्योगीको चुनाव भइसकेको छ । कोभिडले नहुने हो भने त यही कार्यक्रम पनि नहुनुपर्ने हो नि’,पौडेलको भनाई थियो । उहाँले क्रियाशीलमा धाधली भएको समेत जीकिर गर्नुभयो । हामीले सदस्यको सूची हेर्न पाएका छैनौं । आज एउटा सहमति गरेर भोली भोट हाल्न अर्कै मान्छे आए भने के गर्ने? त्यसैले क्रियाशीलको नामावली हेर्न पाउनुपर्यो’, पौडेलको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्