जनता टाइम्स

२९ श्रावण २०७८, शुक्रबार १८:४७

सुझाव अनुसार नै मौद्रिक नीति आएको भन्दै बैंकरहरूमा खुशियाली


काठमाडौं, २९ साउन, । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति सन्तुलन र सकारात्मक रहेको बैंकर्स संघ नेपाल (एनबीए)का उपाध्यक्ष अनिल उपाध्यायले बताउनुभएको छ । उहाँले ‘मौद्रिक नीतिले दिनुपर्नेलाई रातह दिएको छ भने बैंकलाई तरलतामा सहजता प्रदान गरेको छ ।’ उपाध्यायाले भन्नुभयो, कर्जा प्रवाहको सीमाले पार्ने असरका बारेमा भने व्यवहारिक कार्यान्वयन तथा अध्ययनबाट मात्रै कस्तो असर पर्छ भनेर भन्न सकिने हुन्छ । समग्रमा मौद्रिक नीति सकारात्मक छ ।

लघुवित्त वित्तीय संस्था संघको अध्यक्ष वसन्त लम्सालका अनुसार हामीहरूले उठाएका उठाएका मागहरू अधिकांश सम्बोधन नभएपनि मर्जर र क्रस होल्डिङका विषय सम्बोधन भएका छन् । यसलाई सकारात्मक मानेको छौं ।’ क्रम होल्डिङमा सम्बोधन भएको विषय सकारात्मक भएपनि यसको समयअवधि भने छोटो भएको उहाँको बुझाई छ । डेभलमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेलका अनुसार पनि मौद्रिक नीति सकारात्मक छ । उहाँले भन्नुभयो ‘आर्थिक स्थायित्वका लागि राष्ट्र बैंकले राम्रो नीति ल्याएको छ ।’

उहाँका अनुसार कोभिडले असर पारेको क्षेत्रलाई पनि सम्बोधन गरेको र व्यवासायीलाई राहत दिएको छ । विकास बैैंकको विषय हामीले दिएको सुझाव भने खासै सम्बोधन भएको पाइएन । यो विषयमा थप अध्ययन गरेर मात्रै भन्न सकिने पनि पोखरेलले बताउनुभयो । नेपाल वित्तीय संस्था संघको अध्यक्ष सरोजकाजी तुलाधर पनि मौद्रिक नीति सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याउनुअघि आफूहरूले दिएको सुझाव अनुसार नै मौद्रिक नीति आएको छोटो प्रतिकृया दिनुभयो । मौद्रिक नीतिको बारेमा आफैंले थप अध्ययन गर्दै गरेकोले दुई पटक पढेर स्पष्ट धारणा बनाउने र त्यसपछि मात्रै यही हो भनेर प्रतिकृया दिने पनि तुलाधरले बताउनुभयो । मौद्रिक नीतिको प्रभावकारी भने कार्यान्वनयबाट मात्रै थाहा हुने पनि बैंकरहरुले बताएका छन् ।