जनता टाइम्स

३० श्रावण २०७८, शनिबार १४:४७

एनआरएनए निर्वाचन : बद्री केसी र कुल आचार्यलाई टक्कर दिँदै रबिना थापा पनि अध्यक्षको उम्मेद्वार


काठमाडौं, साउन ३० । गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र दुई महिनापछि हुने निर्वाचनलाई लिएर अहिलेबाटै माहोल निकै तात्न लागेको छ । बर्तमान उपाध्यक्ष बद्री केसी र अघिल्लो निर्वाचनमा कुमार पन्तसँग पराजीत भई संघको सल्लाहकारमा रहनुभएका कुल आचार्यले आफ्नो नतृत्वको टीम छान्न थालेपछि एनआरएनमा चुनावी सरगर्मी बढेको हो ।

संघको आगामी निर्वाचनमा उपाध्यक्ष केसी र सल्लाहकार आचार्यले अध्यक्षमा उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । केसी र आचार्यले आफ्नो समुहमा रहने महासचिवसहितको टीम छनोटलाई अन्तिम रुप दिन लागिरहेको बेला महिला उपाध्यक्ष रबिना थापाले पनि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । ‘बिश्वभर रहेका एनआएनकर्मीहरुको सुझावपछि संघको अध्यक्षमा उम्मेद्वारी दिने निर्णय लिएको छु, एनआरएनएमा एकपटक महिलाको नेतृत्व आवश्यक छ र अवसर पाउँदा पुरुष भन्दा राम्रो काम गरेर देखाउने अठोटसहित नेतृत्वको दावी गरेको हो,’ आफ्नो अमेरिकाको बाल्टिमोर निवासी थापाले जनताटाइम्स डटकमसँग भन्नुभयो ।

थापा अहिले नेपालमा आएर आफ्नो चुनावी अभियानमा जुटनु भएको छ । थापाले अहिलेसम्म आफ्नो टीमको बिषयमा केही खुलाउनु भएको छैन । तर दुई बर्षअघिबाटै नेतृत्व लिने योजनासहित अघि बढनुभएका उपाध्यक्ष केसी र आचार्यले आफ्नो भित्री टिम बनाइसक्नु भएको छ ।निर्वाचनका लागि केसीले बृहत बाम प्रजातान्त्रिक एकता भन्ने नारा दिएर समावेसी टीम बनाउने बताउनु भएको छ भने आचार्यले पनि समावेसी टिम बनाउने भन्दै आफ्नो टीम निकै बलियो हुने बताउनु भएको छ । अहिलेसम्मको तयारी हेर्दा महासचिवमा यसपटक दुवै टीमबाट अमेरिकाबाटै हुने देखिएको छ ।

रसिया निवासी उपाध्यक्ष केसीको टीमबाट अमेरिकाको टेक्सस निवासी हालका सचिव गौरीराज जोशी महासचिवको उम्मेद्वार बन्ने लगभग टुंगो लागेको छ भने बेलायत निवासी आचार्यको टिमबाट अमेरिका निवासी डाक्टर केशव पौडेल महासचिवको उम्मेद्वार हुने टुंगो लागेको छ । यस्तै केसीको टीमबाट बर्तमान कोषाध्यक्ष महेश श्रेष्ठ पनि उम्मेद्वार बन्ने टुंगो भएको बताइएको छ ।

आचार्य समुहमा पनि श्रेष्ठको नाम समावेश छ । थापाले पनि आफ्नो समुह बनाउन लाग्नुभएको छ । दुवै टीममा नपरेका साझा ब्यक्तिलाई आफ्नो समुहमा राख्ने योजना थापाको रहेको छ । ‘एनआरएनएमा पार्टीगत उम्मेद्वार होइन, साझा मानिसलाई स्थान दिनुपर्छ भन्ने हाम्रो टीमको मान्यता छ,’ थापाको भनाई छ ।