काठमाडौं, साउन ३२ । झापा गौरादहका कुमार कार्की (नामपरिवर्तित नाम) बिगत आठ बर्षदेखि अफगानिस्तानको काबुलमा छन्। काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ अमेरिकी सेनाको क्याम्पमा कार्कीसँगै त्यहाँ २३ नेपाली कामदार कार्यरत छन । उहाँहरु सवैले हवाई उडान ठप्प रहे पनि जतिसक्दो चाँडो उद्धार गरेर स्वदेश फर्काइदिन माग गरेका छन्।
‘हामी निकै ठूलो समस्यामा छौं, सरकारले हामीलाई यहाँबाट जतिसक्दो चाँडो उद्धार गरेर हाम्रो जीउज्यानको रक्षा गरिदेओस भन्ने एक मात्रै कामना छ’, जनताटाइम्ससँगको टेलिफोन सम्पर्कमा आएका कार्कीले भन्नुभयो, ‘अहिले काबुल तनावग्रस्त छ, स्थिति खराब छ, हामी सवै डेन्जर जोनमा छौं।’
विद्रोहीहरू राजधानीभित्र छिरिसकेकाले जति बेला जे पनि हुन सक्ने त्रास उत्पन्न भएको कार्कीले बताउनु भयो । अफगानिस्तानमा नेपाली राजदूतावास नभएकाले उद्धारका लागि कहाँ कोसँग पहल गर्ने अन्योल भएको छ। काबुलमा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समितिसमेत छैन। अमेरिकी सेना काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा अझै कार्यरत छन्। उनीहरूले नेपाली कामदारलाई उच्च सतर्कता साथ बस्न भनेका छन्। ‘भित्र त त्यस्तो केही भएको छैन। तर, हाई अलर्ट भएर बस्न निर्देशन दिएका छन्’, कार्कीले भन्नुभयो । विद्रोही समूह तालिबान काबुल प्रवेश गरेपछि आफूहरू तनावमा रहेको कार्कीले बताउनु भयो ।
तालिबान विद्रोहीले शान्तिपूर्ण तवरले सत्ता प्राप्तिको पक्षमा रहेको बताइरहे पनि ढुक्क हुन नसकिने त्यहाँ रहेका नेपालीले बताएका छन। सरकारले भने तत्काल उद्धारको कुनै योजना बनाएको छैन। जोखिम मोलेर अनौपचारिक रूपमा पुगेका नेपाली त झनै त्रासमा रहेको जनाइएको छ।
तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तालिबानले सुरक्षा दिइएका क्षेत्रतर्फ जान आग्रह गरेको छ। उनीहरूले आइतबार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालावादलाई बिनासंघर्ष नियन्त्रणमा लिएका थिए। पराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानमा औपचारिक रूपमा १ हजार ४ सय नेपाली कार्यरत छन्।
प्रतिक्रिया दिनुहोस्