काठमाडौं, साउन ३१ । नेपाल र भारतको नवौं परियोजना अनुगमन समिति (ओभरसाइट मेकानिजम) को बैठकमा भारतीय सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुको कार्यान्व्यनलाई तीब्रता दिने सहमति भएको छ । काठमाडौंमा आज सम्पन्न नवौं ओभरसाइट मेकानिजम बैठकमा यस्तो सहमति भएको हो ।
‘बैठकले २०७७ भाद्र १ मा सम्पन्न भएको आठौं बैठक यता गरिएका द्विपक्षीय सहकार्य परियोजनाहरुको विस्तृत रुपमा समीक्षा गरेको थियो । दुवै पक्षले विषयमा गहन छलफल गर्नुका साथै यी परियोजनाहरुको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने कुरामा सहमत भएका छन,’ बैठकबारे जानकारी दिँदै भारतीय दुतावासले बिज्ञप्तीमार्फत भनेको छ ।
बैठकमा विशेष गरी गोरखा र नुवाकोट जिल्लामा हाल निर्माणाधीन अवस्थामा रहेको तर छिट्टै निर्माण सम्पन्न हुन लागेका आवासको पुनर्निर्माण कार्यमा भइराखेको प्रगति, नेपालका तराई क्षेत्रमा निर्माण सम्पन्न भएका १३ वटा सडकहरु, भारत सरकारको सहुलियतपूर्ण ऋण अन्तर्गत सञ्चालित सडक र प्रसारण लाइन परियोजनाहरु र अरुण–तेस्रो परियोजनामा भइराखेको सन्तोषजनक प्रगति र नेपालगञ्जमा सुरु गरिएको एकीकृत जाँच चौकीको निर्माणबारे चर्चा गरिएको थियो । परियोजनासँग सम्बन्धित विविध समस्याको निराकरण गर्न र परियोजना कार्यान्वयनलाई सहयोग पुर्याउन दुवै पक्षले नियमित समन्वयमार्फत ओभरसाइट मेकानिजमका निर्णयहरुमा अनुगमन गर्ने कुरामा पनि सहमती भएको छ । यसको अलावा बैठकमा भारतले नेपाललाई उपलब्ध गराएको औषधी, चिकित्सकीय उपकरण, बेड, आइसियु, भेन्टिलेटर र खोप लगायतका कोभिड–१९ सँग सम्बन्धित सहकार्यकोे दुवै पक्षले सराहना गरेका थिए ।
बैठक नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र लागि भारतीय राजदूत विनय मोहन क्वात्राको सहअध्यक्षतामा सम्पन्न भएको थियो । भारतको सहयोगमा सञ्चालित विभिन्न परियोजना तथा पहलहरुको प्रगति अनुगमन गर्नका लागि सन २०१६ मा स्थापना गरिएको सो समितिको बैठकमा विभिन्न मन्त्रालय, विभाग र नेपाल सरकारका निकायहरुका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी र परियोजनाको कार्यान्वयनमा संलग्न परामर्शदाता, ठेकेदार र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
बैठकमा कोभिड महामारीले निम्त्याएको अनेक अवरोधका बाबजुद पनि पछिल्लो एक वर्षमा विभिन्न विकास परियोजनामा भएका प्रगतिहरुबारे दुवै सह–अध्यक्षले जानकारी गराउनुभएको थियो । बैठकमा ओभरसाइट मेकानिजमको अर्को बैठक दुवै पक्षलाई सहज हुने मितिमा आयोजना गर्न सहमती भएको छ ।













प्रतिक्रिया दिनुहोस्