जनता टाइम्स

२ भाद्र २०७८, बुधबार १६:२५

माधव नेपालको बेहाल, नवौं महाधिवेशनबाट निर्वाचित सवै पदाधिकारीले छाडे साथ


काठमाडौं, भदौ २ । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका हस्तीहरुले आजबाट औपचारिक रुपमा साथ छाडेका छन । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिँदै आउनु भएका एमालेका पदाधिकारी तथा स्थायी कमिटी सदस्यहरू पार्टी विभाजनको निर्णयमा असहमत भई साथ छाडनु भएको हो ।

माधवले आफ्नो अध्यक्षतामा नेकपा एमाले समाजवादी दर्ता गर्ने प्रक्रिया अन्तिममा पुगेका बेला यसअघि वार्ता कार्यदलमा रहेकासहित नेपाल निकट हस्तीहरुले पार्टी विभाजनमा साथ नदिने भन्दै हस्ताक्षर गर्न अश्वीकार गर्नुभएको हो । हस्तीले छाडे पनि नेपालले स्थायी कमिटी सदस्यद्वय मुकुन्द न्यौपाने र बेदुराम भुसालको भने साथ पाउनु भएको छ । पार्टी बिभाजन गर्न नहुने भन्दै रघुजी पन्त समेत विभाजनको बिपक्षमा उभिनुभएको छ ।

माधवले महाधिवेशन भन्दा बाहिरबाटै अध्यक्ष हुने चाहनाले पार्टी बिभाजन गरेपछि उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अनुशासन आयोगका अध्यक्ष अमृत बोहराले साथ छाडनु भएको हो । उपाध्यक्ष शाक्य आजै बागमति एमाले संसदीय दलको नेता चयन भइसक्नु भएको छ ।

अध्यक्ष केपी ओलीसँग जति असहमति र संघर्ष गरे पनि पार्टी विभाजन गर्न हुँदैन भन्नेमा स्थायी कमिटीका नेताहरू लगभग एकमत देखिएपछि माधव सारै कमजोर बन्नुभएको हो । जसरी पनि अध्यक्ष हुने मोहले माधवले पार्टी गठनको निर्णय लिँदा एमाले स्थायी कमिटीमा रहेकामध्ये आफूसहित चार जनाको मात्रै साथ पाउनु भएको छ । बिभाजनमा बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द्र न्यौपाने र बेदुराम भुसालले मात्रै साथ दिनुभएको छ । अर्का उपाध्यक्ष बामदेव गौतम कता लाग्ने टुंगो भइसकेको छैन ।