पाल्पा, भदौ ५ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्न सकिन्छ भन्दा धेरैले उडाए । हावा कुरा गर्यो पनि भने । बिपक्षी दलका नेता कार्यकर्ता मात्रै होइन, पार्टीभित्रकै बरिष्ठ भन्ने नेतादेखि कार्यकर्तासम्मले उडाए । तर ओलीलाई उडाउनेहरु यतिबेला आफै पछुतोमा पर्नुपरेको छ, अज्ञानताका कारण उडाइएछ, ओलीले त अध्ययन गरेरै हावाबाट बिजुली निकाल्ने कुरा गर्नुभएको रहेछ भन्दै । हो ओलीले देखेको हावाबाट बिजुली निकाल्ने सपनालाई एमालेबाटै निर्वाचित पाल्पाको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले पूरा गरिदिनु भएको छ । उहाँकै पलहमा निस्दीमा हावाबाट बिजुली निकालेर सिंगै गाउँ झलमल्ल पारिएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सारु भारी मतका साथ गाउँपालिका अध्यक्षमा विजयी हुनुभएपछि यो योजना अघि बढेको हो । त्यसो त सारुले निर्वाचनअगावै विकट गाउँपालिकालाई उज्यालो बनाउनुपर्छ, गाउँलाई अन्धकारबाट उज्यालो बनाउनुपर्छ भन्ने योजना थियो । सोही आधारमा घोषणापत्रमै यो कुरा समेटियो । यस गाउँपालिकाको मित्यालमा बाह्रै महिना, चौबिसै घण्टा हावा चलिरहन्छ । यही कुरा मध्यनजर गरेर सारुले हावाबाट बिजुली निकाल्न सकिन्छ भन्ने कुरा मनभित्र गढ्यो । प्रया अघि बढाउँदा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अध्ययन गर्दा यस गाउँपालिको केन्द्र रूप्सेभञ्जाङमा हावाबाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्यो ।
वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले परीक्षणको लागि १ किलोवाट विद्युत वायुबाट निकालेर परीक्षण सफल भयो । त्यसलगत्तै सारूले अठोट गर्नुभयो, ‘दुर्गम र अन्धकार गाउँलाई हावाबाटै विद्युत निकाली उज्यालो बनाउनुपर्छ ।’ सारुले योजना बनाउनु भयो तर स्थानीय तहमा उडाउने काम भयो । काठमाडौंमा ओलीलाई उडाए जस्तै सारुलाई पनि हावाबाट बिजुली निकालेर गाउँलाई झिलिमिली बनाउने कुरा गर्दा हावा भने । थोरै मानिसले मात्रसाथ दिए ।
जति उडाए पनि सारुले आफ्नो अठोट त्याग्नुभएन । उहाँले १५ किलोवाट वायु र १० किलोवाट सोलारबाट विद्युत निकाल्न सके गाउँपालिका कार्यालयसहित वडाका २ सय घरमा विद्युत पुग्ने निचोड निकाल्नुभयो । अनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा उनले योजना लैजानुभयो । उहाँकै पहललाई वैकल्पिक ऊर्जाले पनि साथ दियो । २०७६ अन्तिमतिर हावाबाट बिजुली निकाल्न चाहिने सबै उपकरण गाउँमा भित्रियो ।उपकरणहरू जडान गरिए । बिजुली बल्यो । गाउँ उज्यालो भयो । ‘२५ किलोवाटको हावाबाट बिजुली उत्पादन भएको छ । त्यसबाट ८ सरकारी संस्थामा विद्युत सेवा पुर्याएका छौं । १५२ घरलाई पनि यो सुविधा उपलब्ध छ । उपभोक्ताले बिजुली उपयोग गरिरहेका छन । यसैमा म धेरै खुशी छु,’ आफ्नो अभियान सफल भएपछिको खुसी साटदै अध्यक्ष सारु भन्नुहुन्छ ।
नेताहरूले मलाई हावा कुरा गर्छ भने । हावाबाट बिजुली निकाल्ने कहीँ सफल हुन्छ ? हाम्रा नेताहरू हावा कुरा गरिरहे । म आफ्नो मिसनमा लागिरहे । हावाबाट बिजुली निकालेर जनताको घर र दिल उज्यालो बनाएँ

गाउँपालिकामा वायुबाट विद्युत् उत्पादनका लागि ३ करोड रुपैयाँ खर्च भएको छ । जसमध्ये ५० लाख रुपैयाँ गाउँपालिकाको बजेट हो ।
अरुले उडाए पनि अभियान जारी राखेकोले सफलता मिलेको उहाँको अनुभव छ । ‘नेताहरूले मलाई हावा कुरा गर्छ भने । हावाबाट बिजुली निकाल्ने कहीँ सफल हुन्छ ? हाम्रा नेताहरू हावा कुरा गरिरहे । म आफ्नो मिसनमा लागिरहे । हावाबाट बिजुली निकालेर जनताको घर र दिल उज्यालो बनाएँ,’ अध्यक्ष सारुले भन्नुभयो । रूप्सेभञ्जाङमा वायुबाट विद्युत उत्पादन भएपछि वायु ऊर्जा उत्पादनका लागि लगानीकर्ताले पनि चासो देखाएका छन । निस्दीमा तीव्र गतिमा निरन्तर हावा चलिरहने भएको कारण लगानीकर्ता आकर्षित भएका हुन ।













प्रतिक्रिया दिनुहोस्