काठमाडौं, भदौ ५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को बिश्व सम्मेलन नजिकिदै जाँदा चुनावको सरगर्मी पनि एकाएक बढेको छ । यसपटक अध्यक्षमा उपाध्यक्ष बद्री केसी, महिला उपाध्यक्ष रबिना थापा र सल्लाहकार कुल आचार्यले अध्यक्षमा उम्मेद्वार दिने घोषणा गर्नुभएको छ ।
एनआरएनएको नेतृत्व लिन कस्सिनुभएका केसी र आचार्यले निकै अगाडिदेखि तयारी गरेको कारण टीम नै बनाइसक्नु भएको छ । अन्तिम नाम छनोट गर्न मात्रै बाँकी रहेको दुवै उम्मेद्वारका निकट सहयोगीहरुले बताएका छन । आगामी निर्वाचनबाट एनआरएनएको नेतृत्व लिने दौडमा रहनुभएका केसीको टीमबाट महासचिवको उम्मेद्वार टुंगो लागिसकेको छ । केसी टिमबाट महासचिवमा अमेरिकाका गौरीराज जोशी र महिला उपाध्यक्षमा साउदी अरवकी एसमिन बेगम उम्मेद्वार बन्ने पक्का भएको छ । केसी निकटहरुले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार महासचिव र महिला उपाध्यक्षको टुंगो लागेसँगै उपाध्यक्षदेखि पदाधिकारीको लगभग नाम तय भएको छ ।
आगामी निर्वाचनमा बद्री केसीको टीमबाट उपाध्यक्षमा बेल्जियमका अर्जनु श्रेष्ठ, अष्ट्रेलियाका धर्मराज अधिकारी, ओमनका डिबी क्षेत्री, बर्तमान महासचिव युकेका डा. हेमराज शर्मा, जापानका महेश श्रेष्ठ, कतारका आरके शर्मामध्ये चार जनालाई उम्मेद्वार बनाउने योजना रहेको छ । कुल ६ उपाध्यक्षमध्ये चार जनामा उल्लेखितमध्य रहने र दुई उपाध्यक्ष युवालाई ल्याउने योजना रहेको केसी निकट टीमको भनाई छ । दुई उपाध्यक्षमा युवाहरु जामबियाका रोशन थापा, नेदरल्याण्डका हिमाल गुरुङ, अष्ट्रेलियाका स्वतन्त्रप्रताश शाह र जापानका सुदन थापामध्य नाम छनोट गर्ने केसी टीमको योजना छ ।
यस्तै कोषाध्यक्षमा बेल्जियमका लोक दाहाल, रसियाका गोबिन्द गौतम, युकेका सोम सापकोटा, कोरियाका देवी बस्नेत र जापानका ओम गुरुङमध्य अन्तिम नाम छनोट गर्ने बताइएको छ । अध्यक्षका उम्मेद्वार केसी निकट स्रोतका अनुसार उल्लेखित नाममध्ये मतदाताको चाहनाका आधारमा अन्तिम नाम छनोट गरिने छ । एनआरएनएको दशौं बिश्व सम्मेलन निर्वाचन आगामी कात्तिक ६ देखि ८ गतेसम्म हुँदैछ । सोही सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनेछ । निर्वाचनको समय दुई महिना बाँकी रहँदा केसी टीमले राजनीतिक सन्तुलन मिलाउने काम गरिसकेको छ ।
केसी स्वयं नेपालमा बसेर एनआरएनएभित्र राजनीति भित्रन नदिने अडानका साथ सवै बिचारसँग आवद्ध ब्यक्तिहरुको छनोट र राजनीतिक नेतृत्वसँग भेटबार्ता गर्नुभएको छ । केसीले प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एनआरएनएको माग र मुद्धाको बारेमा छलफल गर्नुका साथै नेपालमा गैरआवासीय नेपालीको लगानी भित्र्याउन गर्नैपर्ने काम र आगामी निर्वाचनको बिषयमा परामर्श गर्नुभएको सामाजिक सञ्जालमा राखेको तस्विरले देखाएको छ ।
केसीले ‘राम्रो एनआरएन, हाम्रो एनआरएन’ भन्ने नारालाई ब्यवहारमा परिणत गर्ने प्रतिवद्धता गर्नुभएको छ । सो टीमका अन्य पदका उम्मेद्वारले पनि यही मन्त्र बोकेर मतदातालाई मतदान गर्न अपिल गर्दै आएको छ । यता अध्यक्षका प्रत्यासी कुल आचार्य र रबिना थापा पनि केही समयदेखि काठमाडौंमा रहेर राजनीतिक भेटघाट बढाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्