जनता टाइम्स

२ असार २०७६, सोमबार २०:१८

गुठी विधेयकका विषयमा मन्त्रिपरिषद्मा छलफल हुदै, जनताको पक्षमा निर्णय गर्ने प्रधानमन्त्रीको भनाई


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमाथिको विवाद हल गर्न चाडै निर्णय लिने बताउनु भएको छ । सोमबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट नेपाल कम्युनिस्ट पार्टीबाट निर्वा्चित संघीय सांसद, प्रदेशसभा सांसद, स्थानीय तहका प्रमुख, वडाअध्यक्षहरू, पार्टीका जिल्ला अध्यक्षहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले गुठी विधेयक,२०७५ माथि जनताको चाहनाअनुसार निर्णय लिने बताउनु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा २ घण्टा जनप्रतिनिधिका कुरा सुनेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठकबाट ‘जनताको पक्षमा निर्णय लिने’ आश्वासन दिनु भएको छ । ‘हामीबीचमा पनि छलफल भएको छ, थप छलफल गर्छौँ र क्याबिनेटमा पनि छलफल हुनेछ । जनताको पक्षमा निर्णय गछुँ’, बैठकमा सहभागी एक नेताले प्रधानमन्त्रीको भनाई उल्लेख गर्दै भन्नुभयो ।

छलफलमा जनप्रतिनिधिहरुले तत्कालका लागि विधेयक फिर्ता लिनुपर्ने सुझाव दिएका छन् । उनिहरुले विधेयक फिर्ता लिएर सरोकारवालासँग छलफल गरी नया विधेयक अगाडी बढाउनुपर्ने बताएका छन् ।