जनता टाइम्स

७ भाद्र २०७८, सोमबार ०९:२१

दोर्दी गाउँपालिकाको सह्रानीय काम : अवरुद्ध सडक सञ्चालन गर्न सडक हेरालु


लमजुङ, भदौ ७ । लमजुङको दोर्दी गाउँपालिकाले बर्खायाममा अवरुद्ध सडक सञ्चालन गर्न सडक हेरालुको व्यवस्था गरेको छ । बाढीपहिरोले क्षतविक्षत बनाएको सडक सुचारु गर्न सडक हेरालुको व्यवस्था गरेको हो ।

दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले सबै वडाबाट सिफारिस भई आएका हातमा सीप भएका १८ जना युवालाई छनोट गरी भदौ १ गतेदेखि काममा खटाइएको जानकारी दिनुभयो । उहाँका अनुसार ‘सडक हेरालु’ले नाला सरसफाइ, सडकका खाल्डाखुल्डी पुर्नुका साथै सडकमा रहेका पानी कटाउने काम गरी सडक सञ्चालनमा सघाउ पुर्‍याउनेछन् ।

‘पानी पर्नेवित्तिकै सडक हिलाम्मे हुँदा बर्खामा गाडी सञ्चालनमा आउँदैन । यसलाई मध्यनजर गरेर तीन महिनाका लागि हेरालु राखेको हो,’ अध्यक्ष गुरुङले भन्नुभयो । सडक हेरचाह तथा मर्मतका लागि गाउँपालिकाका नौवटै वडाबाट दुई दुईजनालाई नियुक्त गरेको छ । नौवटा वडाका १८ जना युवालाई हेरालुमा नियुक्त गरिएको गाउँपालिकाका सूचना अधिकारी धर्मराज गुरुङले बताउनु भयो ।

भदौ, असोज र कात्तिक महिनासम्म सडक हेरालुले सडक मर्मतसम्भार गर्नेछन् । दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उनीहरु सडककै काममा खटिन्छन् । सडक हेर्नेलाई मासिक १७ हजार ३ सय १० रुपैयाँ तलब दिइएको छ ।