जनता टाइम्स

७ भाद्र २०७८, सोमबार १६:१३

यस्तो छ माधवलाई राष्ट्रपतिको दुई सुझाव


काठमाडौं, भदौ ७ । एमाले छाडेर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारी भेटन शितलनिवाश पुग्नुभएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल आज अपरान्ह १२ बजे शीतलनिवास पुग्नुभएको हो ।

राष्ट्रपति भण्डारी र नेता नेपालबीच झण्डै दुई घण्टा शितल निवासमा छलफल भएको छ । एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपालले राष्ट्रपति भण्डारीलाई भेटन चाहनुको कारण भने खुलेको छैन । भेटमा माधवले नयाँ पार्टी गठन र सरकारमा सहभागी हुने बिषयमा आफू कन्भिन्स भइसकेको जनाउ दिनुभएको स्रोतले बतायो । स्रोतका अनुसार माधवले आफूलाई बराबर अधिकारसहितको हस्ताक्षरको अधिकार दिए एमालेमै रहने बताउनु भएको छ । राष्ट्रपति भण्डारीले भने आफू राजनीतिक बिवादमा पर्न नचाहेको भन्दै सकेसम्म पार्टी बिभाजन नहोस भन्ने आफ्नो चाहना सुनाउनु भएको स्रोतले जनताटाइम्सलाई बतायो ।

‘कुनै पनि दल बिभाजन हुनु लोकतन्त्रको लागि राम्रो हौइन, त्यसमाथि लामो समय आफै त्यही पार्टीमा रहेको र एमालेकै कारण राष्ट्रपति बनेको भन्दै महामहिमले चासो राख्नुभयो,’ भेटबारे शितलनिवास स्रोतले जनताटाइम्ससँग भन्यो, ‘राजनीतिक दलका कुरामा मेरो यसो र उसो भन्ने छैन, तर दल बिभाजन हुनु राम्रोचाँहि होइन, कुनै पनि दल बिभाजन हुँदा राम्रो मान्न सकिन्न,’ नेता नेपालसँग राष्ट्रपतिको भनाई उधृत गर्दै शितल निवास स्रोतले भन्यो । भेटमा राष्ट्रपति भण्डारीले आफूसँग भेटन आउने र भेटेपछि बिवादमा पार्ने काम बिगतमा नेताहरुबाटै भएको भन्दै आजको भेटको बिषयमा पनि जस्ताको तस्तै कुरा गर्न माधवलाई सुझाउनु भएको छ ।

‘जे कुरा हो, त्यही भन्नुपर्यो नेताहरुले पनि, म बोल्न मिल्दैन भनेर बिगतको जस्तो जे गर्दा बिवादमा तान्न सकिन्छ, त्यही चाँहि गर्नुभएन, तपाईंबाट त्यो बिश्वास मलाई छ,’ माधवलाई राष्ट्रपतिको भनाई उधृत गर्दै स्रोतले भन्यो । निर्वाचन आयोगमा सनाखतका लागि जानुअघि माधवले राष्ट्रपति भेटन चाहनुभएकोले आजको भेटबार्ता भएको बताइएको छ । नेपाल नेतृत्वको पार्टीमा लागेका केन्द्रीय सदस्यहरूलाई सनाखतको लागि बुधबार निर्वाचन आयोगले बोलाएको छ। स्रोतका अनुसार राष्ट्रपति समक्ष नेता नेपालले आफूलाई २० प्रतिशत पनि पुर्याउन नदिने षडयन्त्र अध्यक्ष ओलीबाट भएको गुनासो गर्नुभएको छ । दुई घण्टा लामो छलफलको अन्य बिषयबारे भने स्रोतले केही बताउन चाहेन ।