जनता टाइम्स

८ भदौ २०७८, मंगलबार १०:४०

एसपी नै अपराधको योजनाकार, यसरी भयो कर्तुत भण्डाफोर


रौतहट, ८ भदौ । जिल्ला प्रहरी कार्यालय रौटहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फँसाएको पुष्टि भएको छ । उनले पत्रकारलाई फँसाएपछि बाहिरिएको टेलिफोन संवादले घटनाको पुष्टि भएको हो ।

साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका सादा पोशाकका घुमुवा प्रहरीले पत्रकार मोजुबुल्लाहको बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राखेका थिए ।प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साहले दुई व्यक्तिको सहयोगमा लागु औषध मोटर साइकलमा राखेको सिसिटिभीको फुटेज पनि बाहिरिइ सकेको छ ।

पत्रकार मोजुबुल्लाहलाई फँसाउन नेपाल पत्रकार महासंघ रौतहटका एक अधिकारी अर्थात नेपालमा रहेर भारतीय सञ्चार माध्यमको शाखा सञ्चालन गर्ने सञ्जय साहनीको समेत मिलेमतो रहेको भेटिएको छ । एसपी शाह र पत्रकार साहनीबीचको टेलिफोन संवाद नै बाहिरिएको हो।साउनको अन्तिम साता बिदा जानुअघि उपरीक्षक शाहले नै योजना बनाइ आफु बिदा गएपछि सो कामका लागि असई यादवलाई खटाएको आरोप लागेको छ ।

योजनाबद्ध रुपमा पत्रकार मोजिबुल्लाहलाई होटेलमा बोलाएर बाहिर उनको मोटरसाइकलमा लागुऔषध राखिएको थियो । जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा यस घटनाको मुख्य योजनाकार संजय सहनी भएको बताएको छ । सहनीकै निर्देशनमा धिरज यादव र जितेश यादवले प्रहरीसँग मिलेर लागुऔषध सहित निर्दोषलाई फँसाएको प्रहरीको दाबी छ ।

एसपी साहले पत्रकार सम्मेलन मार्फत नै दोषी भनिएका सहनीको मोबाइलमा घटनाको एक दिनपछि सम्पर्क गर्दै आफ्ना प्रहरी कर्मचारीले काम सम्पन्न गरेकोमा खुशी व्यक्त गरेका छन । एसपी शाहले पत्रकार साहनीलाई सम्पर्क गरेर शुरुमा ‘कहाँ हो ?’ भनेर सोध्छन् । जवाफमा पत्रकार साहनीले गौरमै रहेको बताउँछन् । र एसपी शाहले एक्लै हो की भनेर शुरुमा सोध्छन्

त्यसपछि शाहले “हिजो काम भएछ नी त है ।’ भन्दै लागुऔषध राखेको घटनाबारे सोध्छन् । ‘अब अहिले जसको पक्षमा काम गर्यो राम्रो भयो, जसको अहितमा काम गर्यो उसले नराम्रो भन्न शुरु गरि हाल्छ नी,’ उनले भनेका छन् । जवाफमा साहनीले भनेका छन, ‘भैहाल्छ नि सर, भैहाल्छ । जो पनि आफ्नो औकतमा रहनु पर्छ । हजुरका दुतहरु राम्रा थिए ।’