जनता टाइम्स

८ भाद्र २०७८, मंगलवार १०:५७

सर्यो एमाले स्थायी कमिटी बैठक,यस्तो छ कारण


काठमाडौं, भदौ ८ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सरेको छ । बिहान ११ बजे बस्ने गरी आह्वान भएको बैठक चार घण्टा पर सरेको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकको तयारी नपुगेकोले आजै दिउसो ३ बजेसम्मका लागि बैठक सारिएको छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । बैठकमा ‘तेस्रो धार’मा रहेका नेताहरू पनि सहभागी हुनुहुनेछ ।

नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन् । उहाहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आउनुभएको छ । पार्टी एकताका लागि ओली लचक हुनुपर्ने र नेपालले पनि नयाँ दल खोल्न नहुनेमा उहाँहरूको निचोड रहेको छ ।

सोमबार अध्यक्ष ओलीको निवास बालकोटमा तेस्रो धारका नेताहरूसितको छलफलपछि आजको लागि बैठक बोलाइएको हो । सोमबारको छलफलमा तत्कालीन एमाले विवाद समाधान गर्न गठिन कार्यदलमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको थियो ।