काठमाडौँ, भदौं ८ । केन्द्रमा पार्टी चोइट्याएर माधव नेपाल गए पनि सुर्खेतमा भने प्रायः नेता तथा कार्यकर्ता साविक एमालेमै रहने पक्कापक्की भएको छ । प्रदेश राधानी सुर्खेतमा नेकपा एमाले विभाजन हुनुभन्दा पहिला माधव नेपाल पक्ष बलियो थियो । माधव पक्षीय जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीसहित तीन तिहाइ नेता कार्यकर्ता एमालेमै रहने भएपछि माधव पक्ष कमजोर देखिएको हो ।
राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले जनप्रतिनिधिलाई पनि नयाँ दल रोज्ने अधिकार दिएपछि वडा तहका जनप्रतिनिधिले नयाँ दल रोज्न पाउनेछन् । पार्टीको जिल्ला अधिवेशनसमेत जितेको नेपाल पक्ष भने हाल अध्यक्ष शाही एमालेमै रहने भएपछि सुर्खेतमा कमजोर देखिएको छ । एमाले जिल्ला सचिव मोहन बडुवालको नेतृत्वमा नयाँ पार्टी गठन भए पनि प्रायः नेता तथा कार्यकर्ता साविक एमालेमै रहने पक्कापक्की भएको हो । जम्मा ६३ सदस्यीय नेकपा एमाले जिल्ला कमिटीमा एक जना सदस्यको निधन भएपछि अब ६२ मा नौ जनामात्रै माधवको नयाँ पार्टीमा खुलेका छन् भने अन्य सबै एमालेमै छन् ।
जिल्ला तहका नेताहरुमा सचिव मोहन बडुवाल र उपसचिव टोपबहादुर रास्कोटी नयाँ पार्टी समाजवादीतर्फ छन् । यस्तै खगेन्द्र पोखरेल, केदार कँडेल, हरि खनाल, मनबहादुर कामी, गुमानसिंह कामी, रामकुमार दर्लामी र जागुराम थारुले संयोजक बडुवाललाई जिल्ला कमिटीबाट समाजवादीलाई साथ दिएका छन् ।
कर्णाली प्रदेश राजधानी सुर्खेतमा नौ पालिका र ९९ वडामा एमाले एक्लैले ४३ स्थानमा जित हात पारेको थियो । जसमध्ये चौकुने गाउँपालिका, लेकवेशी नगरपालिक र सिम्ता गाउँपालिकामा प्रमुख र उपप्रमुख एमालेकै पोल्टामा छन् । यी तीनवटै पालिकाका प्रमुख र उपप्रमुख एमालेमै छन् । यस्तै वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल पनि एमाले हुनुहुन्छ ।
उहाँ पहिलेदेखि नै ओली निटक हुनुहुन्छ । यस्तै नयाँ गठित समाजवादीमा वीरेन्द्रनगर नगरपालिकाका तीन वडाध्यक्षहरु देखा परेका छन् । जसमा वडा नं. ८ का थम्मप्रसाद गौतम, वडा १० का लोकप्रसाद चालिसे र वडा १२ का रत्नबहादुर बुढा खुलेर समाजवादीमा लाग्नुभएको छ ।
यस्तै चौकुने गाउँपालिका वडा १ का अध्यक्ष लक्ष्मण आले र सदस्यहरु नयाँ दलमा सहभागी भएका छन् । पञ्चपुरी नगरपालिकामा पाँचवटा वडामा जित हात पारेको एमालेमा ५ नं. वडाध्यक्ष रतनबहादुर बिसी समाजवादीमा लाग्नुभएको छ भने अरु सबै एमालेमै छन् । नौ वटा पालिका रहेको सुर्खेतमा एक जना अध्यक्षमात्र समाजवादीमा खुलेका छन् ।
पञ्चपुरी नगर कमिटी अध्यक्ष मानबहादुर विक समाजवादीमा लाग्नुभएको छ ।नौ अध्यक्षमध्ये सात जना एमालेमै बसेका छन् भने एकजना अध्यक्षले ढुलमुले हुनुहुन्छ । बराहताल गाउँ कमिटी अध्यक्ष ओमबहादुर महतारा अझै कता लाग्ने भनेर निर्णय गर्नसक्नुभएको छैन । यस्तै कर्णालीका अन्य स्थानीय तहहरुमा पनि जनप्रतिनिधिहरु धमाधम दल परिवर्तन गरिरहेका छन् । जसमध्ये केही दिन अघिमात्र दैलेखमा ६ जना जनप्रतिनिधि माधव पक्षमा खुलेका थिए ।













प्रतिक्रिया दिनुहोस्