जनता टाइम्स

३ असार २०७६, मंगलवार १२:१३

विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण


नुवाकोट, असार ३

देवीघाट जाल्पा क्लबले मालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । नुवाकोटको बेल्कोटगढी नगरपालिका–६ स्थित देउरालीमा रहेको सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका जेहेन्दार, विद्यार्थीलाई सोमबार झोला, कापी, सिसाकलमगायत सामग्री वितरण गरिएको क्लबका अध्यक्ष दीपेश चित्रकारले बताउनुभयो ।

चित्रकारका अनुसार अहिले पनि जिल्लाका केही भागमा आर्थिक स्थिति र चेतनाको अभावका कारण बालबालिका घरमा नै बस्ने र विद्यालय जान नमान्ने भेटिएको बताउँदै तिनलाई पढ्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

क्लबका कोषाध्यक्ष नवीन चित्रकारले जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा उनीहरुमा आत्मविश्वास बढ्ने तथा अनुशासित भएर पढ्ने र दैनिक रुपमा विद्यालय उपस्थित हुने आशा रहेको बताउनुभयो । विद्यार्थीका लागि पहिले पनि क्लबले विद्यालय पोशाक वितरण गरेको थियो ।