काठमाडौं, भदौ ९ । आजदेखि मनसुन फेरि सक्रिय भएको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागको केही नजिक रहेकाले आज रातिबाट मुलुकका धेरैजसो स्थानमा पानी पर्ने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले विशेष आज बिहान बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आह्वान पनि भनेको छ ।
महाशाखाका अनुसार आज बिहान केही क्षेत्रमा पानी परेको छ । तर, राति प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ । बिहीबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको आँकलन गरिएको छ ।
शुक्रबार पनि मनसुन सक्रिय रहने देखिन्छ । महाशाखाका अनुसार शुक्रबार प्रदेश १, २, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने केही स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि छ।
प्रतिक्रिया दिनुहोस्